छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् ।
घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय, दमाचौरले जेठ १३ गते नै गिरफ्तार गरेको छ ।
रोजगारीका लागि भारत गएका वली भारतबाट घर फर्किने क्रममा आफ्नै घरमा बसीरहेकी वृद्धालाई मन्दिरमा प्रयोग हुने घण्टले एक्कासी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी सुमित खड्काले जानकारी दिनु भएको छ ।
डीएसपी खड्काका अनुसार घटना भएको थाहा पाए लगतै प्रहरी घटनास्थल पुगेर आरोपितलाई गिरफ्तार गरेको हो ।
टाउको र पिठ्युमा चोट लागेर घाइते भएकी वृद्धाको सल्यानको श्रीनगरमा प्रारम्भिक उपचार गरिएको र जेठ १३ गते राति थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । घाइतेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र आरोपित हाल हिरासतमा रहेका प्रहरीले जनाएको छ ।