INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

सहीदभूमि गाउँपालिका–६ माङतिनका ३३ वर्षीय निरन साङसनुन राईले आफूलाई प्रहरीले निर्घात कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

जेठ १० गते राति चार जनाको सङ्ख्यामा सहीदभूमि गाउँपालिका–६ माङतिन आएका प्रहरीले आफूलाई घरबाट नियन्त्रणमा लिएर लाठी र कुटपिटले निर्घात कुटपिट गरेको आरोप पीडितको छ ।

टाउको, हात र गोडामा चोट लागेको पीडितको जेठ १० गते राति जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले बताउनु भयो ।

स्थानीय तह सदस्य निर्वाचनको वियज र्यालीका क्रममा जेठ ८ गते कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको घटनामा निरन साङसनुनसहित १३ जना विरूद्ध प्रहरीमा उजुरी परेको छ ।

सोही उजुरीका आरोपितलाई गिरफ्तारीका लागि प्रहरी माङतिन पुग्दा राई भाग्ने क्रममा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाको विषयमा छानविनका लागि डिएसपी चिरञ्जीवी दाहालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

सहीदभूमि गाउँपालिकास्थित आँखीसल्ला प्रहरी चौकीबाट वरिष्ठ हवल्दार पुष्कर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भएको छ ।

नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घका जिल्ला सदस्य राईलाई कुटपिट गर्ने प्रहरीविरूद्ध कारबाहीका लागि उजुरी गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

photo 20220527 Dhankuta (1)

photo 20220527 Dhankuta (2)

घटनापछि कांग्रेस र एमालेबिच आरोप प्रत्यारोपमा

स्थानीय तह सदस्य निर्वाचन र प्रहरीले कुटपिट गरेको घटनापछि एमाले र कांग्रेसबिच आरोप प्रत्यारोपमा चलेको छ ।

सहीदभूमि गाउँपालिकामा कांग्रेसले आफ्ना कार्यकर्तामाथि एमाले कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएको छ ।

कांग्रेस कार्यकर्ता डगेन्द्र राई, बलिमाया राई, कुशल राई, निरबहादुर राईलाई एमाले कार्यकर्ताले कुटपिट गरेको कांग्रेस जिल्ला समिति सचिव विजयसन्तोषी राईद्वारा जेठ १० गते हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका कार्यकर्ता कुटपिट घटनामा आफ्ना कार्यकर्ताको हात नरहेको नेकपा एमालेले जनाएको छ ।

घटनामा सम्लग्न भए नभए अनुसन्धान गर्नुपर्नेमा नियन्त्रणमा लिएका व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गर्न नहुने एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको भनाइ छ ।

photo 20220527 dhankuta

अन्य

भिडियो