INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका चार जना आरोपित गिरफ्तार

खार्पुनाथ गाउँपालिका–३ राया घर भई नेकपा एमालेको भातृ सङ्गठन उत्पीडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष ३५ वर्षीय लालधन टमटालाई कुटपिट गरेको घटनाका चार जना आरोपितलाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा सोही ठाउँका २४ वर्षीय गगन टमटा, २६ वर्षीय ठान टमटा, ३१ वर्षीय कृष्ण टमटा र ३३ वर्षीय जैदन टमटा रहेका छन् ।

राया गाउँको एक होटलमा जेठ ११ गते बसिरहेको समयमा नेपाली का‌ंग्रेसका कार्यकर्ताले राजनीतिक विषयमा दलित मुक्ति समाजका जिल्ला अध्यक्ष टमटालाई कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेको घाइतेका आफन्त विर्जन सुनारले आरोप लगाउनु भएको छ ।

टाउकोमा गम्भीर चोट लागेका पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको मागगर्दै उजुरी दिएको डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भएको छ ।

जिल्ला अस्पताल, हुम्लामा सात ओटा टाँका लगाएर उपचार भइरहेका घाइते टमटाको थप उपचारका लागि जेठ १२ गते सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको भएपनि  हवाइ टिकट नपाउँदा जिल्लामा नै उपचार गिररहेको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिनु भएको छ ।

उहाँले भन्नु भयो-“जिल्ला अस्पतालमा सिटिस्क्यान नभएको र टाउको जस्तो सम्वेदनशील क्षेत्र भएकाले जिल्ला बाहिर रिफर गर्नु परेको हो ।”

गम्भीर घाइते भएका टमटाको जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भन्दै जिल्ला बाहिर रिफर गरिएको भएपनि हवाई टिकट समयमा नपाउँदा जिल्लामै रोकिनु परेको आफन्त सुनारले गुनासो गर्नु भएको छ ।

कुटपिट घटनामा नेपाली कांग्रेसका कार्यकर्ता संलग्न भएको र घटनाको मुलजरो राजनीतिक विषय भएको आफन्तले आरोप लगाएका छन् ।
डिएसपी ओझाले पीडितको उजुरीका आधारमा घटनामा संलग्न चार जनाको सङ्ख्यामा रहेका व्यक्तिसँग छलफल गर्ने बताउनु भएको छ ।

अन्य

भिडियो