जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीले समयमा हवाई टिकट नपाउँदा विरामी र विरामीका आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय, हुम्लामा धर्ना दिएका छन् ।
सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा अस्पतालले रिफर गरेका विरामीले समयमा हवाई टिकट नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।
खार्पुनाथ गाउँपालिका–३ राया गाउँका पञ्चे कामी ०७८ चैत पहिलो हप्तादेखि कलेजोमा समस्या भई विरामी भएपछि उहाँका आफन्त र स्वयम विरामी जिल्ला प्रशासन कार्यालय, हुम्लामा हवाई टिकटका लागि धर्ना दिन बाध्य भएका छन् ।
जिल्ला अस्पतालमा जेठ ७ गते भर्ना गरेकोमा उनलाई थप उपचारका लागि अस्पतालले जेठ ८ गते रिफर गरेको थियो ।
अस्पतालले रिफर गरेपनि हवाई टिकट नपाउँदा विरामीलाई बोकेर बस्ने कोठामा फर्कनु परेको विरामीका छोरा रुपेश टमटाले गुनासो गर्नु भएको छ ।
उहाँले भन्नु भयो “बुबाको आँखा पहेलो भएको र कलेजोमा जटिल समस्या आएपछि जिल्ला अस्पतालले इमरजेन्सिमा रिफर गरेका विरामीलाई टिकट नदिएर पहुँजका भरमा एयरलाइन्सका कर्मचारीले अन्यलाई टिकट वितरण गरेको पीडित पक्षले आरोप लगाउनु भएको छ ।
तारा एयरको पहिलो फलाइटमा टिकट भयो भने पनि दोस्रो फलाइटमा उडाउने भनेर आश्वासन दिए तर पछि फलाइट नै भएन भनेर जवाफ दिएपछि विरामीलाई घर फर्काउन बाध्य भएको छोरा रुपेशले दुखेसो पोख्नु भएको छ ।
विरामीले टिकट नपाएपछि घर फर्केका विरामीका परिवारले जेठ ९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा धर्नामा बसेका छन् । विरामी र उनका आफन्त सबै धर्नामा बस्दै सहायक प्रमुख जिल्ला अधिकारीलाई टिकटका लागि अनुरोध गर्नु भएको छ ।
यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले हुम्लामा नियमित हवाई उडान नहुनु प्रमुख समस्या भएको बताउनु भएको छ । तरपनि विरामीलाई नेपालगञ्ज तथा सुर्खेतसम्म उडाउनका लागि प्रशासनले पहिलो प्राथमिकतामा राखेको सहायक प्रजिअ अधिकारीले जानकारी दिनु भएको छ ।
