रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता उलङ्घन भएको भन्दै उनीहरूले वैशाख १० गते मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाको विभिन्न स्थानमा आफ्नो पार्टीलाई भोट हाल्न भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बिजुलीका पोल लगेको भन्दै काङ्ग्रेस र एमालेले जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीको ध्यानाकर्षण गराएका हुन् ।
निर्वाचन आचासंहिता र निर्वाचनसँग जोडिएका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस अघि स्वीकृत नभएका र योजनामा समेत नरहेका स्थानमा बिजुली बाल्नका लागि पोल लाने र डोजर लिएर गाउँगाउँमा सडक खन्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।
कार्यक्रममा काङ्ग्रेस सभापति लवश्री न्यौपानेले जिल्लाको सुनापती गाउँपालिकाको सबै वडामा भोट दिनुपर्छ भन्दै बिजुलीको पोल लाने काम भइरहेको बताए । काङ्ग्रेसले सोही व्यहोराको ध्यानाकर्षण पत्रसमेत मुख्य निर्वाचन अधिकृत शिवाकोटीलाई बुझाएको छ । नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडलले रामेछापमा नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठको नेतृत्वामा निर्वाचन आचारसंहिताको उलङ्घन भएको आरोप लगाए । उनले दोरम्बा गाउँपालिका-१ र १० तथा मन्थली नगरपालिका-४, साविकको डडुवा, राकाथुम र सुनापती गाउँपालिकालगायतका स्थानमा सांसद श्रेष्ठको नेतृत्वमा बिजुलीको पोल झार्ने काम भएको बताए । उनले यस्ता कार्यले अप्रिय घटनाहरू निम्त्याउन सक्ने भन्दै त्यस्ता घटना भए भागिदार नेकपा माओवादी केन्द्र हुने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मैनकुमार मोक्तान ‘मदन’ले जिल्लाका सबै राजनीतिक दलबाट केही न केही कमजोरी भएकाले अबको दिनमा यस्तो कार्य गर्न नहुने बताए । मुख्य जिल्ला निर्वाचन अधिकृत शिवाकोटीले स्थानीय तहको निर्वाचनमा संयमित भएर लाग्न आग्रह गरे । उनले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता जिम्मेवार ढङ्गले पालना गर्न सबैलाई आग्रह गरे ।