प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा नसर्ने बताएको राससले जनाएको छ ।
वैशाख ९ गते काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने-‘मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मतपेटिका र मसीलगायतका सामग्रीको व्यवस्थापन गरी ढुवानीसमेत सुरु भइसकेकाले यो अवस्थामा प्रतिकूल हुने निर्णय भएमा हामी सङ्कटमा पर्दछौँ, त्यसैले ३१ गतेको निर्वाचनको मिति सर्दैन, फेरबदल हुँदैन ।’
उनले भने-‘वैशाख ३१ गतेको लागि मेहनतका साथ अघि बढिरहेका छौँ, निर्वाचन सम्पन्न नहुन्जेलसम्म हरेक दिन नयाँ समस्या आउँछन् त्यसलाई समाधान गर्ने क्षमता आयोगले राख्नुपर्दछ, त्यो क्षमता छ, तर आयोगको परिधिभन्दा बाहिरको राजनीतिक समस्या अझै विद्यमान छ, दलहरुबीच अझै पूर्णरुपमा सहमति हुन सकेको छैन् ।’
“दलहरुबीच भइरहेको वार्ताले सकारात्मक ठोस निष्कर्ष निकालोस्, सम्पूर्ण मतदाताले निर्वाचनमा भाग लिने गरी सहमति गरून् भन्ने कामना गरौँ, प्रधानमन्त्री उत्साहका साथ समस्याको निकास निकाल्न प्रयत्नशील हुनुहुन्छ, यो निकासका लागि हामीले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ, निर्वाचनको व्यवस्थापकीय ढङ्गबाट सम्पूर्ण मतदातालाई कुनै असर नपर्ने गरी अघि बढ्नु पर्दछ”- उनले भने ।