नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूद्वारा वैशाख ८ गते अपहरणमा परेका उदयपुरगढी गाउँपालिका-६ का ४६ वर्षीय प्राविधिक सहायक उद्धब ढुङ्गाना दुई घण्टापछि अपहरणमुक्त भएका छन् ।
पीडित ढुङ्गाना आफ्नो कार्यालय त्रियुगा नपा-११ मा काम गरिरहेको अवस्थामा वैशाख ८ गते अपहरणमा परेको जानकारी पाए लगत्तै प्रहरीले अपहरणमुक्त गराएको हो ।
तीन जनाको समूहमा आएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले ढुङ्गानालाई पेस्तोल देखाएर कार्यालयबाटै कार्यालयको स.१.ब. ५८४ नम्बरको मोटरसाइकलसहित अपहरण गरेको प्रत्यक्षदर्शी पत्रकार सञ्चार किराँतीले बताए । अपहरणपछि उनलाई कम्युनिष्ट पार्टीका कार्यकर्ताले त्रियुगा नपा-११ स्थित ढिम्की मन्दिर नजिक रहेको पार्टी कार्यालयमा थुनेर राखेका थिए ।
‘तँसँग काम छ । एकछिन पार्टी कार्यालयमा हिँड भने । पेस्तोलका अगाडि प्रतिवाद गर्न सकिनँ ।’-मुक्त भएपछि पीडितले भने ।
पीडितका अनुसार वैशाख ७ गते दिउँसो नाम थाहा नभएका कम्युनिष्ट पार्टीको कार्यकर्ता बताउने एक कार्यकर्तासँग सामान्य भनाभन भएको र वैशाख ८ गते उनकै नेतृत्वमा आएका तीनजनाले अपहरण गरेका थिए ।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नरबहादुर केसीले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताले केहिबेर नियन्त्रणमा लिई छाडेको बताए । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज केदार राईले भने आफूलाई घटनाको बारेमा केही जानकारी नभएको बताए ।