छाँयानाथ रारा नगरपालिका–१० का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार ४३ वर्षीया नानी बुढा, उनका पति ४७ वर्षीय रामबहादुर बुढा, उनका छोरा बिनोद बुढा, पवन बुढा र छोरी ज्वाई हिक्मत सेजुवालले भारतबाट मतदान गर्न घर आएका २८ वर्षीय सन्तोष बुढालाई वैशाख २८ गते राति कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
मतदान गर्ने दुई दिनअघि पीडित भारतबाट घर पुगेका थिए । पीडित बुढा वैशाख २८ गते राति १० बजे आफ्नो दिदीलाई भेट्न घरबाट बाहिर आउँदै गर्दा आफनै घरआगनमा स्वतन्त्र उम्मेदवार बुढाका पति र छोराले बिनाकारण कुटपिट गरेका पीडित बुढाले जानकारी दिनु भयो । बाबु र आमाले समात्ने छोरा र ज्वाईले हात भएको माउजर (चुच्चो परेको औठी) ले टाउको र पिठयुमा पिटेको पीडितको आरोप छ ।
कुटपिटपछि घाइते भएका बुढालाई राति २ बजे उपचारकालागि जिल्ला अस्पताल ठिनीमा आफन्तले पु¥याएका थिए । पीडितको जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको ढाड र शरीरको विभिन्न भागमा पिटेका डाम देखिएको उपचारमा संलग्न डा. कर्णराज भामले बताउनु भयो ।
घटनामा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको मागगर्दै पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय, मुगुमा उजुरी दिएका छन् ।
पीडितको घाउजाँच गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी सुभाष हमालले बताउनु भएको छ ।
