विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी शिल्पा निराला कार्कीविरूद्द सर्वोच्च अदालतमा दायर भएको रिटमा वैशाख २८ गते पेशीमा सुनुवाइ स्थगित भएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासमा रिटको पेशी तोकिएकोमा न्ययायाधीश राउतले मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि वैशाख २८ गतेको सुनुवाइ स्थगित भएको हो ।
मुद्दामा कार्कीको तर्फबाट अधिवक्ता इन्द्र अधिकारीले वकालतनामा भरेको कारण न्यायाधीश राउतले मुद्दा नहेर्नु भएको हो । राउत न्यायाधीश हुनु अगाडि अधिकारीसँगै एउटै ल फर्मममा काम गर्ने गरेकोले स्वार्थ बाझिने भन्दै मुद्दा नहेरेपछि त्यसको पेशी वैशाख २९ गतेलाई तोकिएको छ ।
उपमेयर पदमा उम्मेदवारी दिनु भएकी कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको राजीनामा पत्र सदर भएपछि कार्कीविरूद्ध विराटनगर महानगरपालिकामा जसपाबाट उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले सर्वोच्चमा रिट दर्ता गर्नु भएको थियो ।
न्यायाधीश राउतले हेर्न नमिलेकोले वैशाख २८ गते पेशी स्थगित भएपनि वैशाख २९ गते मुद्दाको सुनुवाई हुने यादवका कानुन व्यावसायी पेशल न्यौपानेले बताउनु भयो ।
निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लङ्घन गरेर कार्कीविरूद्ध उजुरी सुनुवाइ नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ ।
उपमेयर पदकी उम्मेदवार कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उजुरी दिनु भएको थियो ।
निर्वाचन कार्यालयले कार्कीले स्वास्थ्य मन्त्रालयमा राजीनामा दर्ता गरी सकेको निवेदनको प्रतिलिपि पेश गरेपछि उजुरकर्ताको माग दाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर भएपछि यादवले कार्कीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो ।
