सवैला नगरपालिका–४ राप्रपाका वडा सदस्य पदका उम्मेदवार ३५ वर्षीय समशुल राइन मियाँलाई नेकपा एमालेका कार्यकर्ताले वैशाख २६ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाइते वडा सदस्यको टाउको र अनुहार लगायत शरिरको विभिन्न भागमा चोट पटक लागेको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा वैशाख २६ गतेदेखि उपचार भइरहेको स्थानीय मनोज पासवानले बताउनु भयो ।
राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि एमालेकै कार्यकताहरुले आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले वैशाख २६ गते एक विज्ञप्ति जारी गर्दै वडा सदस्य पदका उम्मेदवार लगायत मियाँको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको दावी गर्नु भएको छ । प्रवक्ता श्रेष्ठले यस घटनामा संलग्नलाई गिरफ्तार गरी दोषीलाई कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गर्नु भएको छ ।
घटनाबारे प्रहरीमा जानकारी प्राप्त भएलगतै घटनामा संलग्न आरोपितहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले बताउनु भयो ।