प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राजनीतिक स्थिति विस्तारै अनुकूल बन्दै आएकाले निर्वाचनको माहोलसमेत राम्रो बनिरहेको अवस्थामा मधेसी मोर्चालेसमेत निर्वाचनमा भाग लिने बताएका छन् ।
निर्वाचन आयोगले विराटनगरमा चैत ३१ गते सञ्चालन गरेको निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा उनले खासखास जिल्लामा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भएपनि उनीहरूले दल दर्ता र उम्मेदवारीका लागि आधिकारीक पत्रसमेत दर्ता गराइसकेकाले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।
कुनै परिस्थितिमा देशको कुनै भागमा निर्वाचन हुन नसके पनि सरकारको आग्रहमा आयोग अर्को चरणमा निर्वाचन गर्नसमेत तयार रहेको भन्दै उनले निर्वाचन आयोगलाई निर्वाचन बहिष्कार गर्ने आधिकारिक जानकारी नआएको बताए । उनले भने-‘मतदात गर्ने जनताको मौलिक अधिकारलाई सबै दलले सम्मान र संरक्षण गर्नुपर्छ ।’
प्रमुख आयुक्त यादवले असुरक्षाको कुनै वातावरण नभएको र अरू क्षेत्रमा जस्तै आवश्यकताका आधारमा दुई नम्बर प्रदेशमासमेत आयोगले कार्यक्रम गर्ने बताए । उनले सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेकोसमेत स्पष्ट पारे । सुरक्षाको प्रबन्ध गर्ने नेपाल सरकारको जिम्मेवारी रहेको बताउँदै उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी हुँदाहुँदै सेना परिचालन गर्ने कुनै अवस्था नरहेको बताए ।