घरेलु हिंसा पीडित बनगाड कुपिण्डे नपा–१ सल्लीबजार निवासी ३५ वर्षीया कविता परियारलाई इन्सेकले पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सदरमुकाम खलंगामा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सो रकम पीडित महिलालाई ०७९ वैशाख १४ गते हस्तान्तरण गर्नु भएको हो ।
४० वर्षीय पति डोटीराम दमाइले ०७८ माघ २४ गते मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै पीडित महिलाले इन्सेकलाई न्यायका लागि पहल गरी दिन अनुरोध गरेपछि इन्सेकको पहलमा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गर्ने भनिएपनि पीडितले अब कुनै पनि हालतमा सँगै बस्न नसक्ने बताएपछि ०७८ फागुन ३ गते सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ ।
पटक–पटक कुटपिट गर्ने गरेको र इलाका प्रहरी तथा नगरपालिकाको न्यायिक समितिमा आगामी दिनमा यस्तो घटना नदोहो¥याउने सहमति हुँदै आएपनि फेरी पनि उस्तै व्यवहारले गर्दा आफू समस्यामा रहेको र सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेको पीडितको भनाइ छ ।
न्याय खोज्दै माघ २८ गते सदरमुकाम पुगेकी पीडित महिलाले पतिले यस अघिपनि मदिरा सेवन गरी पटक पटक कुटपिट गर्ने गरेको र २४ गते दुबैजना मजदुरी गरेर घर फर्किएपछि राती मदिरा सेवन गरी दाउराले मरणासन्न हुने गरी कुटपिट गरेको बताउनुभएको थियो ।
