सिमकोट गाउँपालिका–७ पाम्लाथुुङका स्थानीय डेढ घण्टाको पैदल हिँडेर खोलाको धमिलो पानी प्रयोग गर्न बाध्य छन् ।
गाउँमा खानेपानी आपुर्ति गर्दै आएको पाइप लाइन सडकमा रहेको र सो पाइपलाइनलाई गाडीले च्यापेर टुक्राटुक्रा पारेपछि सो ठाउँका स्थानीय ६ महिनादेखि डेढ घण्टा पैदल हिँडेर खानेपानी ल्याउन बाध्य भएका हुन् ।
स्थानीय नवराज शाहीका अनुसार ०७८ असोजदेखि धारामा पानी आउन छोडेपछि यहाँका स्थानीय खोलको धमिलो पानी पीउन बाध्य छन् ।
स्थानीय सङ्गीता शाहीले खानेपानीको धारामा पानी आउन छोडेपछि गाउँवासी डेढ घण्टा पैदलको हेक्पा खोलाबाट पानी ओसार्न बाध्य हुँदै आएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘बिहान, दिउँसो र बेलुका गरी घरको एक जनाको काम नै उकालो बाटोमा पानी ओसार्ने कार्य हुने गरेको छ ।’
स्थानीय जक्तबहादुर शाहीले भन्नु भयो–‘धारामा पानी आउन छोडेपछि ४० घरधुरीका स्थानीय खोलाको धमिलो पानी बोकेर खाने गरेका छौँ ।’
स्थानीय बासिन्दाहरूलाई खानेपानी व्यवस्थाकै लागि चिन्ता हुने गरेको छ । धेरै पटक सडकमा रहेको पाइप लाइनलाई मर्मत गरे पनि गाडी सञ्चालनकै कारण दैनिक कुुच्चिने गरेको हुँदा मर्मत गर्ने कार्य नै रोकिदिएको शाहीले बताउनु भयो ।
पानी आउन छोडेपछि योजनाबाट निर्माण गरिएका पाँच ओटा धारा जीर्ण हुने अवस्थामा पुुगेका छन् । उक्त खानेपानी योजना पाँच किलोमिटर टाढाबाट निर्माण गरेर दुुई वर्ष अगाडि गाउँमा पानी पुर्याएको थियो ।

गाउँमा पानीको अभाव हुन थालेपछि सिमकोट गाउँपालिकासँग अनुरोध गर्दा पनि सुनुवाइ नगरेको स्थानीयले गुनासो गरेका छन् ।
सोही धाराको पाइपलाइनलाई दबाएर अर्को ठाउँबाट लिने अवस्था समेत नभएपछि हाल सो ठाउँका स्थानीय शुद्ध खानेपानी पीउनबाट वञ्चित भएका छन् ।
यसैका बारेमा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामालाई बुझ्दा यतिखेर आफ्नो गाउँपालिकालाई पर्याप्त बजेट नभएका कारण खानेपानीको योजना दिन नसकिने प्रतिक्रया दिनु भयो ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले साउन लागेपछि मात्रै यस विषयमा ठोस् निर्णय लिन सकिने बताउनु भयो ।
