शुभकालिका गाउँपालिका–४ का ४५ वर्षीय श्रीमोर सुनारलाई जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय दलबहादुर शाहीलाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत १७ गते सार्वजनिक ठाउँमा आयोजित भोजमा भान्सा छोएको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
जातीय छुवाछुत गरी कुटपिट गरेको भन्दै पीडितले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित शाहीलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
नेपालको संबिधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्वको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ ।
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि तीन वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
पीडितको टाउको र छातिमा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर रत्नविर सुनारले बताउनु भयो ।