गाउँमा स्वच्छ खानेपानी अभाव हुदा छाँयानाथ रारा नगरपालिका–१३ रुगाका २ सय ६५ घरधुरी मुगु कर्णालीको पानी पीउन बाध्य छन् ।
रुगा गाउँमा २० वर्ष अगाडि १३ किलोमिटर टाढाबाट ल्याएको खानेपानी पाइपको मर्मत सम्भार नगर्दा अहिले सञ्चालनमा छैन ।
दुई वर्ष अगाडि सोही वडाको थार्प गाउँको मुहानबाट ल्याएको खानेपानीबाट निर्माण गरिएका दुई ओटा धारामा नियमित पानी नआउँदा स्थानीय कर्णालीको खानेपानी पीउन बाध्य भएका हुन् ।
रुगा गाउँमा २ सय दलित र ६५ क्षेत्रीको घरपरिवारको बसोबास छ । यो गाउँ नजिक पानीका मुहान छैनन् ।
१३ किलोमिटर टाढाबाट ल्याएको खानेपानी मुहान जीर्ण भएपछि बस्तिलाई खानेपानीका लागि सोही वडाको थार्प गाउँबाट ल्याएको खानेपानीले गाउँमा दुई धारा निर्माण गरिएको भएपनि धारामा नियमित पानी नआउँदा र आएको दिन पनि गाउँलाई आवश्यकता अनुसारको पानी नपुग्दा गाउँबाट १५ मिनेट तल बगेको मुगु कर्णालीको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय बालकृष्ण लावड बताउनु भयो ।
‘गाउँमा भएका धारामा नियमित पानी आउँदैन । पानी आए एक/दुई घण्टामै बन्द भइहाल्छ ।’–लावडले भन्नु भयो ।
‘स्वच्छ पानीको कुरा के गुर्न नियमित धारामा पानी आए हुन्थ्यो धारामा पानी नआउँदा कर्णालीको धमिलो पानी खान बाध्य हुनु परेको छ ।’–सोही गाउँकी हरिनी लावडले भन्नु भयो ।
नगरपालिका र खानेपानी कार्यालय तथा गैर सरकारी संस्थाहरूलाई समेत यो गाउँमा खानेपानीका लागि बजेट विनियोजित गर्न धेरै पटक अनुरोध गर्नु परेको छाँयानाथ रारा नगरपालिका–१३ का वडाध्यक्ष चक्र सावदले बताउनु भयो ।
गाउँ नजिक पानीका श्रोत नहुँदा ठुलो रकम खर्चन यि निकायहरू तत्पर नहुने गरेको वडाध्यक्षको आरोप छ ।