१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दैलेख जिल्ला, आठबीस नगरपालिका–२ का २८ वर्षीय गोपाल भनिने गोविन्दबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको चैत २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७८ कात्तिक २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई कात्तिक २९ गते अनुसन्धानका लागि गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा मङ्सिर २१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको मङ्सिर २२ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २८ गते गरिएको थियो ।