विद्यालय भवन समयमा बन्न नसक्दा विद्यार्थीहरू टीनको टहरामा जोखिम मोलेर पठन पाठन गर्न बाध्य छन् ।
मालिका गाउँपालिका–२ दर्लिङस्थित सिद्द मालिका आधारभुत विद्यालयको भवन निर्माण हुन नसक्दा बाँसका टेका र टीनको ओत मूनि बसेर पठन पाठन गर्दै आएका छन् ।
विद्यालयको संरचना ०७२ बाट बनाउन सुरू गरिए पनि स्थानीयको आपसी विवादका कारण बन्न सकेको छैन ।
स्थानीयको विवादका कारण भवन नबन्दा बालबालिकालाई जोखिम मोलेर टहरोमा राख्ने अवस्था रहेको विद्यालयमा प्रध्यानाध्यापक प्रदिप पन्थले बताउनु भयो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालयलाई भुकम्प प्राधिकरणबाट भवन तथा स्थानीय सरकारबाट दरबन्दी र संरचनामा सहयोग भइरहेको भएपनि स्थानीय स्तरमै विवाद भएपछि प्राधिकरणको ७२ लाख रुपियाँ फिर्ता भएको छ ।

०७२ सालबाट सुरू भएको चारकोठे भवनको कामले भुई छोडेको छैन् । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष शोभाखर गिरीले प्राधिकरण, तत्कालिन शिक्षा कार्यालय र स्थानीय तहबाट थुप्रै पटक संरचनाको पहल र सहयोग भएपनि स्थानीय विवादले काम हुन नसकेको बताउनु भयो ।
विद्यालयका तीन वटा कक्षा टहरामा सञ्चालन छन् । विद्यालयमा गुल्मी र बाग्लुङ १ सय ५० जना बालबालिकाले अध्ययनरत छन् ।
नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चत गरेको छ । तर, अझै पनि जनशक्ति अभाव, संरचना नभएको, तथा आर्थिक एवं सामाजिक सोचका कारण बालबालिकाहरू शिक्षाबाट बञ्चित हुनुपर्ने, जिर्ण भवन र खुल्ला आकाशमा पढ्नुपर्ने बाध्यतामा छन् ।
