कालिमाटी गाउँपालिका–७ काप्रेचौरमा बबइ नदीमा घुइयावारी–बाटुले जोड्ने पुल नहुँदा यहाँका विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् ।
वर्षात्को उर्लँदो भेल होस् वा हिउँदको चिसो, विद्यार्थीहरू जोखिम मोलेर नदी वारपार गर्न बाध्यता रहेका हुन् ।
पुल नहुँदा वर्षात्को समयमा चिन्ना, गाडीको ट्युव, जर्किनलगायतको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको घुइयावारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा यामकला बस्नेतको भनाइ छ ।
‘काप्रेचौरको स्वयम्बास, कुसुमतरा, बाटुलेलगायतका ठाउँमा माध्यमिक तहको विद्यालय छैन । जसका कारण यो क्षेत्रका विद्यार्थीलाई पढ्नको लागि घुइयावारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पुग्नुपर्छ ।’–उहाँले भन्नुभयो–‘दैनिक रूपमा जोखिम झेलेर जानुपर्ने अवस्था छ ।’
‘कक्षा ५ सम्म पढ्नको लागि गाउँमा नै विद्यालय छ । तर, त्योभन्दा माथिल्लो कक्षामा पढाइ हुने विद्यालय गाउँमा छैन । घरदेखि करिब एक घण्टा हिँडेर विद्यालय पुगिन्छ ।’–उहाँले भन्नुभयो–‘तर, जोखिम धेरै हुन्छ । वर्षात्मा बबइ उर्लेर आएको हुन्छ । सक्नेजतिले बबइ तरेर पढ्न जान्छौँ । नसक्ने बिचबाटोबाटै घर फर्किनुपर्छ ।’ नदी तर्दा कहिलेकहीँ किताबकापी भिज्ने गरेको उहाँको भनाइ छ ।
कक्षा ९ मा अध्ययनरत छात्र सोमलाल बस्नेतले बबइ नदी समयमा नै तर्न नसकेकै कारण कयौँ पटक कक्षामा उपस्थित हुन नसकेको बताउनु भयो ।
र्याङ र हात्तिढुङ्गामा झोलुङ्गेपुल निर्माण गरिएको भएपनि ती पुलबाट विद्यालय जाँदा दुई घण्टाभन्दा बढी हिड्नुपर्ने उहाँको भनाइ छ ।
‘र्याङको पुल तरेर विद्यालयमा जान पनि बिचमा खहरे खोला पर्ने भएकाले जोखिम त्यतिकै छ । बबइ नदीको बहाव धेरै भएको बेलामा बिच बाटोबाटै घर फर्किनुपर्ने बाध्यता पनि छ ।’–उहाँले भन्नु भयो ।
बबइ पारी कक्षा ५ सम्म अध्ययन गर्ने विद्यालय भएपनि त्यसपछिको अध्ययनका लागि विद्यालय नहुँदा बर्दिया, सुर्खेत वा बबइको अर्को किनारा जानुपर्ने बाध्यता छ ।
घुइयावारीमा रहेको विद्यालयमा ४ सय जनाभन्दा बढी विद्यार्थी पढ्छन् । जसमध्ये बबइ नदी पारीका करिब १ सय ५० विद्यार्थी छन् । उनीहरूलाइ दैनिक विद्यालय जाने र आउने क्रममा नदी तर्न समस्या हुने गरेको छ ।
विद्यालयका शिक्षक कुलेन्द्र बिसीले बबइमा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन नै प्रभावित भएको बताउनु भयो ।
‘पुल नहुँदा विद्यार्थीले जोखिम मोलेर नदी पार गर्छन् । कहिलेकँही पढाइ सुरु भइसकेपछि मात्रै विद्यालयमा उपस्थित हुन्छन् । यसले गर्दा उनीहरूलाई पढाइमा घाटा लाग्ने गर्छ ।’–उहाँले भन्नु भयो ।
वर्षातको समयमा बबइ पारीका आधा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनु भयो ।
बबइ नदीकै कारण बालबालिकालाई विद्यालय पठाउन पनि समस्या हुने गरेको अभिभावक नैनी महतराले बताउनु भयो ।
‘विद्यार्थी मात्रै होइन यहाँका स्थानीयहरूले पनि घाँस दाउरा, मेलापात बबइ नदी तरेर गर्नुपर्ने बाध्यता छ ।’–उहाँले भन्नु भयो–‘पुल नहुँदा नदीमा पसेरै तर्नुको विकल्प छैन ।’
स्थानीयले घुइयावारी–बाटुले जोड्ने झोलुङ्गे पुलमात्रै भएपनि बनाइदिन बारम्बार आग्रह गर्दै आएको बताएपनि पुल निर्माणमा कसैले चासो नदिएको आरोप लगाएका छन् ।
कालिमाटी गाउँपालिका–७ का अध्यक्ष नैनसिंह रानाले पुल निर्माणका लागि पहल गरिरहेको बताउनुभएको छ । उहाँले यहाँको समस्याबारे जानकारी दिँदै पुल निर्माण गरिदिन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिरहेको बताउनुभएको छ ।
