जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानलाई कार्यालय प्रमुखसमेत रहेका डिएसपी केदार रजौरेले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै कारबाहीका लागि माथिल्लो निकायमा उजुरी गरेकी छन् ।
म्यादी प्रहरी छनौटको सिलसिलामा १ हजार भन्दा बढी मानिसको सामुन्नेमा चुल्ठो समाएर लछारपछार गरेको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेको बताएकी छन् ।
पीडित जवानले उजुरीमा आफूलाई महिला भएकै कारण हेपेर सार्वजनिक स्थानमै कुटपिट गरेको उल्लेख गरेकी छन् । चैत २० गते भएको उक्त घटनाको बारे उजुरी गरेको ५ दिनसम्म पनि कुनै छानबिन नभएको उनले गुनासो पोखिन् ।
यसबारे डिआईजी विजयलाल कायस्थको प्रतिक्रिया माग्दा पीडित महिलाले अलि बढाईचढाई गरेर उजुरी गरेको र डिएसपी रजौरेले पनि केही कमजोरी गरेको कुरा टेलिफोनमा आफैँले कुरा गर्दा थाहा पाएको बताए । उनले भने-‘छानबिन टोली बनाई अनुसन्धान सुरु भइसकेको छ ।’
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले आफूलाई कसैले नभनेको भन्दै एकैपटक सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाएको बताए । ‘भीड हटाउन नसकेको भन्दै हप्काए मात्रै हो ।’-डिएसपी रजौरेले प्रतिक्रिया दिए ।