०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन- ०७९ का लागि जिल्लामा २२ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत खेमराज कोइरालाका अनुसार जिल्लामा राष्ट्रिय जनमोर्चा पार्टी, मौलिक जरोकिलो पार्टी, सङ्घीय लोकतन्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी नेपाल, किरात खुम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), सामाजिक एकता पार्टी, जनमत पार्टी, नेपाल सद्भावना पार्टी, राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, सचेत नेपाली पार्टी, नेपालका लागि नेपाली पार्टी, उन्नत लोकतन्त्र पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल गरी २२ ओटा दल निर्वाचनका लाथि दर्ता भएका छन् ।
निर्वाचन अधिकृत कोइरालाका अनुसार जिल्लामा ०७८ चैत ४ गतेदेखि चैत ६ गतेसम्म निर्वाचन चिन्हका लागि दल अध्यावधिक गर्ने समय तोकिएको थियो ।
नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।
०७८ माघ २४ गते मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिएको छ ।
स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ४९ हजार २ सय ५० जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख ७७ हजार ६ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।