लेटाङ नगरपालिका–५ खेरूवामा यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिन गएको प्रहरी टोलीमाथि फागुन ६ गते भएको आक्रमणमा परी घाइते भएका प्रहरीको स्वास्थ्य अवस्थाका विषयमा इन्सेकले जानकारी लिएको छ ।
इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका मानव अधिकार अधिकृत चिरञ्जीवी कोइरालासहित पत्रकारको टोलीले घाइते प्रहरीलाई कोशी अस्पतालमा फागुन ७ गते भेटी घटनाका साथै स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएको प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।
कोशी अस्पतालमा उपचाररत ३५ वर्षीय सई ध्रुव कार्की, ४१ वर्षीय प्रहरी जवान शिवकुमार मण्डल र ३५ वर्षीय प्रहरी जवान मिक्वा राईसँग भेट गरी घाइतेको स्वास्थ्य अवस्था र घटनाका विषयमा जानकारी लिएको प्रलेख अधिकृत अधिकारीले बताउनु भयो । सई ध्रुव कार्कीको घाँटीमा र अन्यको टाउकोमा चोट लागेको छ । कोशी अस्पतालमा चैत ६ गते राति १४ जना उपचारका लागि भर्ना भएकामा अन्य उपचारपछि फर्किएका छन् ।


घटनाका विषयमा छलफल, प्रहरी र स्थानीयबिच झडप
फागुन ४ गते यौन दुर्व्यवहार गरेको घटनाका विषयमा फागुन ६ गते विद्यालय प्रशासनमा पीडित पक्षले जानकारी गराएपछि पीडित पक्ष, विद्यालय प्रशासन र जनप्रतिनिधिबिच छलफल भएको लेटाङ नगरपालिका–५ का वडाध्यक्ष भूमसूर्य मगरले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित शिक्षकलाई प्रहरीको जिम्मा लगाएर कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको वडाध्यक्ष मगरको भनाइ छ ।
विद्यालय परिसरमा छलफल भइरहेको अवस्थामा विद्यार्थीसहित स्थानीयले घेरेको र शिक्षकलाई प्रहरीले विद्यालय परिसरबाट निकाल्ने प्रयास गरेपनि विफल भएपछि प्रहरीले प्रदेश कार्यालय विराटनगरमार्फत थप सुरक्षा बल माग गरेको थियो ।
प्रदेश सशस्त्र गण प्रहरी मुख्यालय रानीबाट थप सुरक्षाकर्मी घटनास्थलमा गएको थियो । फागुन ६ गते साँझ साढे सात बजे प्रहरीको थप बल पुगेको झडपमा घाइते हुन भएका ३५ वर्षीय सई ध्रुव कार्कीले इन्सेककर्मीसँगको भेटमा बताउनु भयो ।
आरोपित शिक्षकलाई प्रहरीले साँझ विद्यालय परिसरबाट निकाल्ने प्रयास गरेपछि स्थानीयले प्रहरीमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरेपछि प्रहरीले गोली चलाएको घाइते ४१ वर्षीय प्रहरी जवान शिवकुमार मण्डलले इन्सेककर्मीसँग बताउनु भयो ।
प्रहरीको गोली प्रहारबाट लेटाङ नगरपालिका-४ का २६ वर्षीय रुपेश खड्का र लेटाङ नगरपालिका-८ का २२ वर्षीय मिलन खड्का घाइते भएको पत्रकार रेवती निरौलाले बताउनु भयो । घाइते दुवै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइ रहेको छ ।
झडपमा प्रहरी जवान श्रेष्ठको हत्या
फागुन ६ गते भएको झडप २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ । प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानीमा कार्यरत श्रेष्ठको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम कोशी अस्पतालमा फागुन ७ गते गरिएको छ । विराटनगरस्थित बखरी प्रहरी चौकीमा कार्यरत असइ दाजु भुवन श्रेष्ठले बहिनीको सद्गतका लागि शव बुझेका छन् । शव अन्तिम संस्कारका लागि परिवारले उदयपुरको गाईघाटस्थित घरमा लगेका छन् । उनको अन्तिम संस्कार उदयपुर गाइघाटस्थित त्रियुगा नदीमा गरिने दाजु भुवन श्रेष्ठले बताउनु भयो । शव उदयपुर लानु अघि मोरङ प्रहरीले कोशी अस्पताल परिसरमा श्रेष्ठको शवलाई सलामी दिएको छ ।
शङ्कास्पद २० जना गिरफ्तार
प्रहरीको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले फागुन ७ गते आठ जना र कफ्र्यु उल्लङ्घन गरेको आरोपमा १२ जना गरी २० जनालाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेकाहरूको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ । गिरफ्तारीमा परेकाहरूको बारेमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङले इन्सेक प्रतिनिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कर्फ्यु जारी
फागुन ६ गतेको घटनापछि फागुन ७ गते बिहानदेखि लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यु जारी रहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले फागुन ७ गते बिहानदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु जारी रहेको बताउनु भयो । पोखरेलका अनुसार कर्फ्युपछि घटनास्थलकोे अवस्था सामान्य छ । तत्कालै कर्फ्युको आदेश हट्ने अवस्था छैन पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो । उहाँले फागुन ८ गतेसम्म कर्फ्यु कायम रहने र ८ गते बस्ने बैठकले अवस्थाको विश्लेषण गरेपछि कर्फ्यु हटाउने वा जारी राख्ने भन्ने निर्णय विषयमा जानकारी गराउनु भएको छ । कफ्र्युपछि बजार क्षेत्र ठप्प भए पनि ग्रामीण क्षेत्रको अवस्था सामान्य रहेको लेटाङ– ५ का वडाध्यक्ष भूमसुर्य मगरले बताउनु भएको छ । उहाँले ग्रामीण क्षेत्रमा खेतवारीको काम गर्न कुनै अवरोध नभएको जानकारी दिनु भएको छ ।

फागुन ७ गते बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । लेटाङ नगरपालिका–३ र ४ को गङ्गेचौक र कमलपुर क्षेत्र , लेटाङ–५ को सवै क्षेत्र र उत्तरमा लेटाङ–६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जानकारी दिनु भएको छ ।
घटनाका दोषीलाई कारबाही गर्न माग
नेपाल कम्युनिष्ट पार्टी एमाले, नगर कमिटी लेटाङले चैत ७ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा घुसपैठ भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लुइटेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा घुसपैठ भएकाले निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

