१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका–९ का ३८ वर्षीय गोविन्द भनिने इन्द्रध्वज घिमिरेलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन खाँदबारीबाट गिरफ्तार गरी जिल्ला अदालतमा असोज २२ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ असोज १ गते गरिएको थियो ।