INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्न ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान र मानव अधिकार सञ्जाल नेपालगञ्जले चैत २२ गते स्थानीय तहको निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोग नगर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन कार्यालय, जिल्ला शिक्षा कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आआफ्नो तहबाट अनुगमन र सम्बन्धित पक्षलाई ध्यानाकर्षण सहितको पत्राचार गरिदिन आग्रह गरिएको हो ।

ध्यानाकर्षण पत्रमा मतदान केन्द्र रहने विद्यालयहरूको हकमा बढीमा पाँच दिन र मतदान केन्द्र नरहने विद्यालय भने निर्वाचनको एक दिनमात्र बन्द हुने व्यवस्था गर्न, मतदान केन्द्र निर्धारण गर्दा सकेसम्म वैकल्पिक स्थान छनौट गरी विद्यालयलाई कम प्रयोग गर्न, निर्वाचनको क्रममा निर्वाचन कार्यालयले मानव संशाधन परिचालन गर्दा वैकल्पिक उपाय अपनाई शिक्षक परिचालनमा कमी गर्न, विभिन्न सङ्घसंस्थाहरूबाट गरिने अनुगमनमा बालबालिकासम्बन्धी विषयलाई समावेश गरी प्रतिवेदन माग्नसमेत अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्रमा बहुमुखी सेवा केन्द्रका प्रभातकुमार ठकुरी, सिविनका, सिद्धराज पनेरु, हिमराइट्सका प्रकाश उपाध्याय, अभियान नेपालकी कमला पन्त, सेभ द चिल्ड्रेनका विरेन्द्र थापा, इन्सेकका विनोद पाण्डे, पत्रकार विनय दीक्षित, वार्दली फाउण्डेशनकी ऋचा लुइँटेललगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र निर्वाचन कार्यालयका प्रमुख बसन्त अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, निमित्त जिल्ला शिक्षा अधिकारी खिमप्रसाद ढकाललाई बुझाइएको सिविन नेपालका सिद्धराज पनेरुले बताए ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल सरकारसँग विविध मागहरू प्रस्तुत गर्ने कार्य गरेको छ । यसै सन्दर्भमा ०७४ वैशाख २६ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्वाचन आयोगको प्रस्ताव रहेको छ ।

अन्य

भिडियो