नेपालको संविधानको धारा २० को १ मा महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव नगरिने व्यवस्था गरिएको भएपनि महिला कामदारहरुले पुरुष कामदार सरह सामान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन ।
जिल्लामा दैनिक रूपमा ज्याला मजदुरी गरी जिविकोर्पाजन गरिरहेका श्रमिक महिलाहरूले पुरुष सरह काम गरेको भएपनि ज्याला दिदा पुरुषलाई बढी र महिलालाई कम दिने गरेको परशुराम नगरपालिका– ११ जोगवुडाकी दमयन्ती धामीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘दिनभरी पुरूष श्रमिकहरूसँगै एउटै किसमको काम गर्छौँ । तर, ज्याला दिदा हामीमाथि विभेद गरिन्छ ।’
पुरूष जनशक्ती वैदेशिक रोजगारीमा भारतलगायत अन्य खाडी मुलुकमा जाने भएकाले जिल्लामा घर तथा भवन निर्माण, सडक स्तरोन्नति, ढुङ्गा, गिट्टी र बालुवा बोक्ने काममा पुरूषको तुलनामा महिलाहरू बढी भएको महिला अधिकारकर्मी सुनिता गैरेले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पुरुषको भन्दा बढी समय र क्रियाशील भएर महिलाहरूले काम गर्छन । तर, उनिहरूले भने पुरूषको भन्दा कम ज्याला पाउछन् ।’
समान काममा पुरुषहरुलाई दैनिक ८ सय रुपियाँ ज्याला दिने र महिलालाई ६ सय रुपियाँ मात्रै ज्याला दिने गरेको परशुराम नगरपालिका–७ की धनमति भण्डारीले दुखेसो पोख्नु भयो ।
महिला श्रमिकहरुले दिनभरी पुरुष भन्दा बढी काम गरेपनि ज्याला कमै दिने गरेको भण्डारीको भनाइ छ ।
परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउदले नगर क्षेत्र भित्र समान काममा महिला र पुरुष श्रमिकहरुबिचमा फरक ज्याला भएकोले नगर क्षेत्र भित्र हुने सम्पूर्ण निर्माण कार्यहरुमा सरकारले तोके बमोजिमको ज्याला पाउने वातावरणका लागि पहल गरिरहेको बताउनु भयो ।
महिला श्रमिक भएकै कारणले समान काममा पुरुष श्रमिकहरु भन्दा कम ज्याला पाएको भनेर हालसम्म जिल्ला प्रहरी र प्रशासन कार्यालयमा कुनै पनी उजुरी नआएको र उजुरी आएमा कानुन अनुसार कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनु भयो ।