मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरूद्ध नेपाल बन्दको क्रममा बन्द गराउन सडकमा भेला भएका बन्दकर्ताहरूलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ ।
इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरूद्ध नेपाल बन्दको क्रममा बन्द सफल गराउन सडकमा भेला भएका सात जना बन्दकर्ताहरूलाई प्रहरीले फागुन १६ गते आन्दोलनचोकबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ३६ वर्षीय बिशाल दर्लामी, कोषाध्यक्ष ५२ वर्षीय टिकाराम पौडेल, नेकपा माओवादी क्रान्तिकारी जिल्ला सेक्रेटरी ५५ वर्षीय लिला श्रेष्ठ, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी ३७ वर्षीय भुवन जिसी, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा समूहका जिल्ला उपाध्यक्ष २१ वर्षीय बेद प्रसाद बिक, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक २१ वर्षीय सुदिप बिक, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष २४ बर्षीय लङक राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो । बन्दकर्ताहरुलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो ।
इन्सेक बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार एमसीसीको विरोध गदै सडकमा बन्द गराउदै हिडेका ११ जना बन्दकर्ताहरूलाई प्रहरीले नेपालगञ्जको विपि चोकबाट फागुन १६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सल्यान जिल्ला दर्मा गाउँपालिका –९ घर भइ हाल नेपालगञ्ज बस्ने २१ वर्षीय सागर सेन पौडेल , बाजुरा जिल्ला हिमाली गाउँपालिका–२ का २४ वर्षीय कर्मठ बोहरा, कैलाली टिकापुर नगरपालिका–८ का १८ वर्षीय संसार सुनार, जाजरकोट छेडागाड गाउँपालिका–१२ का २६ वर्षीय कमलप्रसाद अधिकारी , कालीकोट पचालझरना गाउँपालिका–३ का १८ वर्षीय अमरराज एडी रहेका छन् । यसैगरी,अछाम कमलबजार नग।पालिका–६ का २८ वर्षीय डिबि शाही , बर्दिया मधुवन नगरपालिका –६ की २६ वर्षीया योजना रोकाय , जाजरकोट नलगाड नगरपालिका–५ का ३० वर्षीय जितबहादुर बोहरा , सल्यान बाघचौर नगरपालिका–२ को २५ वर्षीय डिल्ली क्षेत्री , बाँके बैजनाथ गाउँपालिका–३ का २२ वर्षीय निरज वली , कोहलपुर नगरपालिका– ११ का २१ शकर बाल्मीकीलाई रहेका जिल्ला प्रहरी कार्यालयका इस्पेक्टर इश्वर गिरीले बताउनु भयो । आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको इस्पेक्टर इश्वर गिरीले बताउनु भयो ।
इन्सेक प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) लगायत ६ वटा राजनीतिक दलहरूले गरेकाे बन्दका कारण विद्यालयहरूमा सञ्चालन भई रहेको कक्षा १ देखि१२ सम्मको अर्ध वार्षिक परीक्षा समेत स्थगित भएको छ । फागुन १६ गते सञ्चालन हुने परीक्षा ०७८ फागुन १८ गते हुने जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख शिवराज पण्डीतले बताउनु भयो । शिक्षण संस्था बन्द हुँदा जिल्लाका अध्ययनरत करिव ८१ हजार २ सय बालबालिकाले परीक्षा दिन पाएनन् ।