बाग्चौर नगरपालिकाको थारमारे र छत्रेश्वरी गाउँपालिकाको लेक पोखराका प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ नहुँदा स्थानीयले सेवा पाउन सकेका छैनन् ।
विशेषज्ञ डाक्टरको दरबन्दि भएपनि अध्ययनका लागि भन्दै छोटो समयमै सरूवा हुने समस्याका कारण हाल दुबै केन्द्र अहेबको भरमा सञ्चालित छन् ।
१४ वर्ष अघि स्थापना भएका ती स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा विशेषज्ञ सेवाबाट बञ्चित भएको स्थानीयले गुनासो गरेका छन् । डाक्टरहरू अध्ययन बिदामा गएपछि थारमारेमा ९ महिनादेखि र लेखपोखरामा ३ वर्ष देखि विशेषज्ञहरू नभएको बागचौर नगरपालिकाका स्थानीय कल्पना विकले गुनासो गर्नुभयो ।
स्वास्थ्य केन्द्रबाट सामान्य उपचार बाहेक अरू सेवा पाउन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार बागचौरको स्वास्थ्य केन्द्रमा बाफुखोला, कोटबेद, थारमारे, शिवरथ, कोटबारा, कोटमौला र पिपलनेटाका स्थानीयले सेवा लिने गरेका थिए ।
‘कहिलै डाक्टर हुँदैनन्, सानो उपचारका लागि पनि मेडिकलमा महङ्गो शुल्क तिरेर उपचार गराउनु पर्ने बाध्यता छ’ कल्पनाले भन्नुभयो ।
स्थानीय निर्मला बुढाले डाक्टर नभएकै कारण उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जान छाडेको बताउनुभयो ।
उहाँले भन्नुभयो,–‘सानो स्वास्थ्य समस्या देखिए घरेलु उपचार गर्छौं, ठूलो समस्या क्लिनिकमा जानुपर्ने बाध्यता छ ।’
स्वास्थ्य केन्द्रका लागि किनिएको एक्सरे मेसिन समेत लामो समयदेखि जडान हुन नसकेको छत्रेश्वरी–४ लेखपोखराका बलबहादुर पुनको भनाइ छ ।
डाक्टर नआउँदा उपचार सेवा प्रभावकारी बन्न नसकेको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवम् छत्रेश्वरी–४ का अध्यक्ष लीलाधर घर्तीले बताउनुभयो ।
डाक्टर पठाउन पटक पटक स्वास्थ्य मन्त्रालयमा आग्रह गरे पनि बेवास्ता भएको उहाँको दुःखेसो छ ।
शल्यक्रिया सुविधासमेत रहेको स्वास्थ्य केन्द्रबाट हाल बिरामीहरुलाई रित्तो हात फर्काउनु परेको उहाँको भनाइ छ ।