मल्लरानी गाँउपालिकाका अध्यक्ष ४९ वर्षीय अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत ऐरावती गाउँपालिका– ६ का ३१ वर्षीय बालकृष्ण थापालाई फागुन ९ गते नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मोसो दल्नुका साथै दुर्व्यवहार गरेको छ ।
पीडितहरूलाई मल्लरानी गाउँउपालिका– ५ को सरङकोटस्थित भूमि विकास आधारभुत विद्यालयमा पठन पाठन र विद्यालयको बारेमा अभिभावकहरूसँग छलफल गरी रहेको समयमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सोही गाउँपालिका–५ का ३३ वर्षीय गोपिलाल सुनारको समूहले मोसो दल्नुका साथै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो ।
पीडितहरूले आरोपित विरूद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर देवीप्रसाद गैरेले बताउनु भयो । इन्स्पेक्टर गैरेका आनुसार आरोपितहरूको खोजी भइरहेको छ ।
घटनाका सम्बन्धमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी अजयले फागुन ९ गते विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतका धेरै जनगुनासा रहेकाले जनकारबाही गर्नुका १० वटा कारण रहेको जनाएको छ ।