INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना अनुगमन समितिलाई क्रियाशिल बनाउन माग

मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी जिल्ला स्तरिय अनुगमन समितिलाई क्रियाशिल बनाउन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैर सरकारी संस्था महासंघ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको तर्फबाट समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई फागुन ५ गते ध्यानाकर्षण पत्र बुझाइएको छ ।

मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पारित गरी लागु भएको दुई वर्ष बित्न लागिसक्दा समेत तनहुँ जिल्लामा उक्त संयन्त्र परिचालन नभएको र संयन्त्रको बैठक समेत बस्न नसकेको हुँदा नागरिक संगठनहरूको तर्फबाट उक्त संयन्त्रको प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गरिएको हो ।

चौंथो राष्ट्रिय कार्ययोजनासम्म यसको कार्यान्वयनको अवस्थाको अनुगमन गर्ने संयन्त्रको संयोजक प्रमुख जिल्ला अधिकारीलाई तोकिएकोमा प्रमुख जिल्ला अधिकारी फेरबदल भइरहने समस्याका कारण पाँचौं राष्ट्रिय कार्ययोजनाले कार्ययोजना कार्यान्वयनको अवस्थाको अनुगमन गर्ने स्थायी संयन्त्रको रूपमा रहने जिल्ला समन्वय समितिको प्रमुखलाई जिम्मेवारी तोकेको छ ।

तर अहिलेसम्म उक्त संयन्त्रले प्रभावकारी रूपमा अनुगमन कार्यलाई अगाडि बढाउन नसेकको र तनहुँ जिल्लामा संयन्त्रको कुनै गतिविधि समेत नभएको हुँदा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयनको प्रभावकारी अनुगमन गरी मानवअधिकारको पूर्ण प्रत्याभुती दिलाउनका साथै जिल्ला स्तरीय अनुगमन संयन्त्रलाई क्रियाशिल बनाउन सो पत्रमा माग गरिएको छ । इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडलले संयुक्त रूपमा जिल्ला समन्वय समिति तनहुँका प्रमुखलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सो पत्र बुझ्दै प्रमुख वाग्लेले यस संयन्त्रको बारेमा आफु अहिलेसम्म अनभिज्ञ रहेको हुँदा अब यस सम्बन्धी कार्यविधिको अध्ययन गरीसमितिलाई क्रियाशिल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Photo20220217Tanahun

 

अन्य

भिडियो