INSEC Online

📅 २०८३ जेष्ठ २१

गरिबीका कारण गिट्टी कुट्न बाध्य छन् जाजरकोटका बालबालिका

सात वर्षीया लक्ष्मी सबेरै उठछिन् । बासी रोटी पोलेथीनमा पोको पार्छिन् । भाइलाई पिठ्यूँमा बोकी काममा लाग्छिन् । राम्रो खाने र राम्रो लगाउने कसलाई मन हुँदैन र ? धुलो मैलो कपडा लगाएकी लक्ष्मी गरिबीका कारण गिट्टी कुट्न बाध्य छन् । कलम समाउने उमेरमा हातमा हतौडी समात्नु परेको उनको दिनचर्या गिट्टी फोडेर बित्ने गरेको छ ।

त्रिवेणी नलगाड नपा-१३ वाईकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा तीनमा अध्ययनत छिन् । उनको काम वाईकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एक घण्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइको धरालो लाग्नु पनि छ । उनकी आमा बसन्ती बिक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्छिन । छोरीलाई गिट्टी कुटे बापत प्रतिबोरा ५० रुपियाँ दिइन्छ भने आमा बसन्तीले प्रतिबोरा एक सयमा बालुवा बोक्ने काम गर्छिन् । बसन्तीका पति तीन महिना अघि भारतको कार्गीलमा कमाई गर्न गएका छन् । भाइ हेर्दै गिट्टी कुट्दै विद्यालयमा दिइएको गृहकार्य समेत गर्नुपर्ने जिम्मेवारी रहेको उनले बताइन् ।

बिहान उठ्ने वित्तिकै बासी रोटी पटुकामा बाँधेर वाईकाँडा गाउँबाट बसन्तीले छोरी र छोरा लिएर यसरी नै कामगर्न थालेको एक महिना बितेको बताउँछिन् । उनी जस्तै वाईकाँडाकै दलित प्राविमा कक्षा चारमा अध्ययन गर्ने सुनिता बिक भेरीमा बालुवा बोकी पढाइ खर्चसँगै आमालाईसमेत सहयोग गर्छिन् । मावि औलगुर्तामा भाइलाई छोडी भेरीबाट बालुवा बोक्नु आफ्नो दैनिकी भएको सुनिताले बताइन् ।

बाबा कमाई गर्न भारत गएको सुनिताको भनाइ छ । ‘अन्य साथी घरमा बिहान बेलुका अध्ययन गर्छन्, कसैले ट्यूसनसमेत पढ्ने गरेका छन् ।’-सुनिताले भनिन्-‘हामी वाईकाँडा प्राविमा अध्ययन गर्ने सबै दलित विद्यार्थी अर्काको घरमा काम गर्दै अध्ययन गर्ने गरेका छौँ ।’ ‘वाईकाँडामा दलित मात्र बस्छन्, अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ ।’-शिक्षक बुद्विबहादुर बस्नेतले बताए । सुनिता मात्र होइन यहाँका अधिकांश दलित बालबालिका दैनिक काम गरेर कमाउँदै पढ्दै गर्ने गरेको शिक्षक बस्नेतको भनाइ छ ।

अभिभावक कमाइका लागि भारत जाने भएकाले यहाँका आमाहरू अर्कैको घरमा काम गरेर गुजारा चलाउने गरेका छन् । छोरा छोरीपनि आमासँगै काम गर्न बाध्य हुने गरेका छन् । यहाँका बालबालिकाको बाल अधिकार, पढ्न पाउने अधिकार भन्ने कुरा गरिबीका कारण ओझेलमा पारेको छ ।

अन्य

भिडियो