INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजार निवासी ३५ वर्षीया कविता परियारलाई कानुनी प्रक्रियामा लैजान इन्सेकले सहयोग गरेको छ ।

पति ४० वर्षीय डोटीराम दमाइले माघ २४ गते मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै पीडित महिलाले इन्सेकलाई न्यायका लागि पहल गरी दिन अनुरोध गरेपछि इन्सेकको समन्वयमा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता हुने भएको छ ।

इन्सेक प्रतिनिधिले निःशुल्क रूपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडी बढाउन जिल्ला अदालतका वैतनिक वकीललाई आग्रह गरेपछि मुद्दा दर्ताको प्रक्रियामा रहेको जिल्ला अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

न्याय खोज्दै माघ २८ गते सदरमुकाम पुगेकी पीडित महिलाले पतिले यस अघिपनि मदिरा सेवन गरी पटक पटक कुटपिट गर्ने गरेको र २४ गते दुबैजना मजदुरी गरेर घर फर्किएपछि राती मदिरा सेवन गरी दाउराले मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लगाउनुभयो ।

मजदुरी गरेर ५ जनाको परिवार पाल्नु पर्ने बाध्यता रहेको बताउँदै उहाँले टाउको, अनुहार र खुट्टामा चोट लागेको भएपनि उपचारसमेत गर्न नसकेको बताउनुभयो ।

पटक – पटक कुटपिट गर्ने गरेको र इलाका प्रहरी तथा नगरपालिकाको न्यायिक समितीमा आगामी दिनमा यस्तो घटना नदोहोर्‍याउने सहमति हुँदै आएपनि फेरी पनि उस्तै व्यवहारले गर्दा आफू समस्यामा रहेको पीडितको भनाइ छ ।

यसैगरी मुद्दा दर्ता र त्यसपछिका विभिन्न प्रक्रियामा सामेल हुनको लागि आर्थिक सहयोग गरिदिन पीडितले इन्सेकलाई निवेदन दिनुभएको छ ।

Photo 20220214 Salyan

अन्य

भिडियो