INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित घटना छानविन गर्न जाँचबुझ आयोगसम्बन्धी विधेयक पारित

मधेश प्रदेशमा बलात्कार, सामाजिक अपराध, मानव अधिकार उल्लङ्घनलगायतका घटनामा छानविन गर्न प्रदेशसभाबाट माघ २६ गते जाँचबुझ आयोगसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरिएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा पेश गर्नुभएको जाँचबुझ आयोगको गठनसम्बन्धी विधेयक माथि छलफल पश्चात सर्वसम्मत रूपमा पारित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनु भयो ।

मधेश प्रदेशमा हुने सार्वजनिक महत्वको घटना, महिला हत्या, बलात्कार, मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित घटना, अपराधलगायत घटनामा जाँचबुझ आयोगले अनुसन्धान गर्ने छ ।

तर, उक्त घटनाको विषयमा सङ्घीय सरकारले छानविन गर्न समिति गठन वा गर्न चाहेको घटनामा भने जाँच बुझ आयोगले उक्त घटनाको अनुसन्धान नगर्ने विधेयकमा उल्लेख छ ।

आयोगले अनुसन्धानको क्रममा कसैसँग सोधपुछ वा जानकारी लिन चाहेको खण्डमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समन्वय गर्नु पर्नेछ ।

आयोगको अनुसन्धानमा कुनै व्यक्तिको कसुर देखिएमा वा लगाइएको आरोपको प्रमाण भेटिएमा आयोगले तत्काल निलम्बनको लागि सिफारिस गर्ने विधेयकमा उल्लेख छ ।

जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धित विषयका विज्ञ सहित बढीमा थप दुईजना सदस्य रहने व्यवस्था गरिएको छ । आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था भने प्रदेश सरकारले गर्ने विधेयकमा उल्लेख छ ।

आयोगका पदाधिकारीको कार्यकालको म्याद तथा आयोगको नियमावली, कार्यविधि सरकारले बनाउने विधेयकमा उल्लेख छ ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश
मधेश प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले माघ २६ गते प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश गर्नुभएको छ ।

प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सघीय सरकारलाई दबाब दिने उद्देश्यले सो सङ्कल्प प्रताव ल्याएको बताउनु भयो ।

मधेश प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा सघीय सरकारले अवरोध गरेकाले प्रदेशसभामा सङ्कल्प प्रस्ताव ल्याएको मन्त्री साहले बताउनु भयो ।

अन्य

भिडियो