INSEC Online

📅 २०८३ जेष्ठ २१

रक्तश्रावबाट थला परेकी महिलाको उद्धार हुन सकेन

एक हप्तादेखि रक्तश्रावबाट थला परेकी सर्केगाड गाउँपालिका–१ छ्याँगी गाउँकी २८ वर्षीया कमला शाहीको उद्धार हुन नसकेको परिवारले गुनासो गरेका छन् ।

दुई छोरी रहेकी महिलाको माघ १५ गते चार महिनाको बच्चा खेर गएपछि लगातार एक हप्ता रक्तश्राव हुँदा जोखिममा रहेकी शाहीको माघ २० गते राष्ट्रपति महिला उत्थानमा पहलका लागि जिल्ला अस्पताललाई अनुरोध गर्दा कुनै पहल नगरेको श्रीमान विरमान शाहीले आरोप लगाउनु भयो ।

‘जिल्ला बाहिर लैजानको लागि पहल गरेको तीन दिन बित्यो कसैले मतलब गरेका छैनन् । यस्तै हो भने पीडित महिलाको ज्यान जान सक्ने सक्छ’ श्रीमानले भन्नु भयो ।

आफूहरूले राष्ट्रपति महिला उत्थानमा माघ २२ गते पहल गरेको भए पनि बिरामी महिलाकै आफन्तले पुनः यतै राम्रो भई हाल्छ भनेपछि हेलिकप्टरको कुरा स्थगित गरेको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी सरिता बोहरोले बताउनु भयो ।

‘कहिले पहल गर्नु भन्ने कहिले नगर्नु भनेपछि आफै पहल गर्नु भनेर प्रतिक्रिया दिएको हो’ उहाँले भन्नुभयो ।

गाउँ नजिक स्वास्थ्य संस्था समेत नभएपछि बिरामी शाही आफ्नै घरमा छटपटाई रहेको आफन्तले बताएका छन् ।

घरबाट बराई स्वास्थ्यचौकी पुग्न करीव तीन घण्टा लाग्छ । तर सो स्वास्थ्य चौकीमा रक्तश्राव रोक्ने औषधि नभेटिएपछि जिल्ला बाहिर लैजाने निधो गरेको आफन्त धनराज शाहीले बताउनु भयो ।

रक्तश्रावबाट पीडित महिलाको विषयमा हालसम्म पहलका लागि कुनै जानकारी नआएको सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायले बताउनु भयो ।

उहाँका अनुसार आफूलाई जानकारी आएपछि हेलिकप्टरको पहल गर्ने पनि जानकारी दिनुभयो ।

अन्य

भिडियो