जनमत पार्टीका कार्यकर्ताले माघ २० गते बन्दको अवज्ञा गरेको भन्दै ना ४ ख १७९८ नम्बरको तेल टयाङ्कर, ना ७ ख ८३१० नम्बरको ट्रक, ना ३ ख ४९६२ नम्बरको ट्रक र प्रदेश १ –०१–००१ ख ३९३३ नम्बरको बसको अगाडिको सिसा फुटाएर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिसपी शुभाष बुढाथोकीले बताउनु भयो ।
ढुङ्गामुढाबाट बसमा सवार यात्रु रौतहट जिल्ला चन्दपुर नगरपालिका–४ बस्ने ६० वर्षीय लेखनाथ शर्माको आँखामा चेट लागेको र उहाँको उपचार लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा भइरहेको डिएसपी बुढाथोकीले बताउनु भयो ।
सिके राउत नेतृत्वको जनमत पार्टीले किसानहरूको समस्या समाधान गर्न भन्दै मधेस प्रदेशमा आन्दोलन गर्दै आएकोमा माघ २० गते राजमार्ग बन्दको आह्वान गरेको थियो ।
प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत हवल्दार लालबाबु अन्सारी घाइते हुनु भएको थियो । उहाँको उपचार धनगढीमाईस्थित आरके मेडिसिटीमा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बन्द गराउने र ढुङ्गामुढा गर्ने जनमत पार्टीका आठ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको र आफन्तको जिम्मामा रिहा गरेको बताउनु भयो ।
नियन्त्रणमा पर्नेहरुमा धनगढीमाई नगरपालिका–२ का २५ वर्षीय जय प्रताप साह, कल्याणपुर नगरपालिका–९ का २७ वर्षीय रबिन्द्र ठाकुर, ३२ वर्षीय रञ्जित साह, २७ वर्षीय बिजय महतो, २४ वर्षीय गजेन्द्र साह, २४ वर्षीय सन्तोष कुमार साह, सिरहा नगरपालिका–२० का २६ वर्षीय दिनेश यादव, अर्नमा गाउँपालिका–३ का २७ वर्षीय मनोज मण्डल रहेको जनमत पार्टीका सिरहा जिल्ला अध्यक्ष बिजय कुमार साहले बताउनु भयो ।
जनमत पाटीको केन्द्रको निर्णय अनुसार हामीले सिरहामा आम हडतालको घोषणा गरेको पार्टीका जिल्ला अध्यक्ष बिजय साहले बताउनु भयो । साहका अनुसार प्रहरीले आफना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर दुव्र्यवहार गरेको बताउनु भयो ।