INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको आन्तरिक कोष वृद्धि गर्न विद्यार्थीबाटै शुल्क असुली

सरकारले कक्षा १–१२ सम्म निःशुल्क पठनपाठन हुनुपर्ने व्यवस्था गरेपनि तिला गाउँपालिका –३ कुडारीस्थित सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिले विद्यालयको आन्तरिक कोष बृद्धि गर्नका लागि विद्यार्थीबाट शुल्क लिने गरेको छ ।

विद्यालयका अध्यक्षसहित समितिका सदस्य र सदस्य सचिव प्रधानाध्यापक रामविलास यादवले श्रृङ्खलाबद्ध रूपमा मनोमानी तरिकाले मापदण्ड विपरित २०७७ असोज २३ गते निर्णय गरेर बालबालिकाबाट शुल्क लिने गरेको स्थानीय मानबहादुर बुढाले बताउनु भयो ।

उहाँले भन्नुभयो,–‘उक्त विद्यालयले कक्षा १ देखि ५ सम्म ५० रूपियाँ र कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबाट एक सय भर्ना शुल्क लिने गरेको छ ।’

त्यस्तै, जुनसुकै सिफारिसका लागि कक्षा १ देखि ५ सम्मलाई ५० रूपियाँ र चारित्रिक प्रमाणपत्र वापत १ देखि १० सम्मका विद्यार्थीका लागि पाँच सय रूपियाँ, कक्षा १२ को लागि सात सय रूपियाँ र पछिल्लो समयमा लब्धाङ्क पत्रको पनि आठ सय देखि १ हजार पाँच सय रूपियाँ सम्म लिने गरेको अविभावकहरूले गुनासो गरेका छन् ।

प्रधानाध्यापक यादवले विद्यार्थीबाट शुल्क उठाएको बारेमा स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,–‘बिद्यालयको अन्तरिक आय स्रोत केही नभएकोले उठाएको शुल्कले बिद्यालयको खानेपानी, बेन्च मर्मत र एक जना कम्प्युटर शिक्षकलाई तलब दिने गरिएको छ ।’

सरकारले कक्षा १२ सम्म निशुःल्क शिक्षा  भनेको छ तर, बजेटको ब्यवस्था गरेको छैन । उहाँले थप्नुभयो,–‘सरकारले कक्षा ६ देखि कम्प्युटर शिक्षा अनिवार्य गरेको छ तर, शिक्षकका लागि दरबन्दीको ब्यवस्था गरेको छैन ।’

छात्रा अनिता कठायतका अनुसार सरस्वती प्राविधिक बिद्यालयमा बिद्यार्थीबाट शुल्क असुलेर कम्प्युटर शिक्षक राखेपनि बिदार्थीले कम्प्युटर देख्नसमेत पाएका छैनन ।

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले कुनै पनि बहानामा विद्यार्थीबाट शुःल्क लिन नपाइने र राज्यले कक्षा १ देखि १२ सम्म निशुःल्क शिक्षाको व्यवस्था गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘विद्यार्थीबाट लिएको शुल्क विद्यालयले फिर्ता गर्नु पर्दछ ।’

अन्य

भिडियो