INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमपातले विद्यालयको भवन भत्किँदा पठन पाठन प्रभावित

कनकासुन्दरी गाउँपालिका– ३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयको भवन भारी हिमपातले भत्किँदा पठन पाठन प्रभावित भएको छ ।

यहि साता परेको हिमपातले विद्यालय भत्किँदा पठन पाठनमा समस्या भएको कक्षा – ५ मा अध्ययनरत छात्रा प्रेमकली बुढाले बताउनु भयो ।

‘कहिले कोरोना सङ्क्रमणले पढ्न नपाइने कहिले विपद्ले गर्दा विद्यार्थीको पठनपाठन अन्यौल हुने गरेको छ’उहाँले भन्नुभयो ।

हिमपातका कारण विद्यालयको दुई तलाको चार कोठे भवन भत्किँदा पाठ्य पुस्तक, फर्निचर, शैक्षिक सामग्रीमा क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर बुढाले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो–‘यसै साता दुई दिनसम्म भएको भारी हिमपातले दुई तले भवन भत्कियो । सबै सामग्री पुरिएका छन्, निकाल्ने स्थिति छैन् । पठन पाठननै प्रभावित भएको छ ।’

६० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालय हाल भवन अभावमा सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष बुढाको भनाइ छ ।

स्थानीय सरकारसँग भवन पुनर्निर्माणका लागि माग गरेको पनि उहाँले जानकारी दिनु भयो ।

Photo 20220131 Jumla 2

अन्य

भिडियो