राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षअगाडि भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली लागि ज्यान गुमाएका अमाही बरियातीका बासुदेव साहको परिवारसँग भेटघाट गरेको छ ।

आयोगका सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासहितको टोलीले चैत ११ गते साहको घरमा गएर स्थलगत अनुगमन गर्दै परिवारको अवस्थाबारे जानकारी लिएको हो ।
२०६७ साल जेठ ११ गते मङ्गलबार राति एक टिन तेल ल्याएको विषयमा विवाद हुँदा एसएसवीका इन्स्पेक्टर हितेन्द्र सिंहले साहलाई गोली हानेर हत्या गरेका थिए ।

एसएसवीले नेपाल भारत सीमाभन्दा करिव २ सय फिट नेपालतर्फ आएर गोली हानेको बताइएको छ । सो विषयमा राज्यबाट पीडितका परिवारलाई राहत प्रदानलगायतका विषयमा कुनै पहल नगरेको जानकारीमा आएकाले आयोगले अनुगमन गरेको सदस्य पौड्यालले बताए ।
आयोगले घटनालगतै जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेर घटनाबारे यथार्थ जानकारी माग गर्दै पीडितलाई राहतको लागि भनेपनि अनुगमन गर्दासमेत वास्ता नगरेकोले चैत १० गतेसमेत पत्र पठाइएको सदस्य पौड्यालले बताए ।

क्षतिपूर्ति दिने र घरको एक जनालाई प्रहरीमा जागिर लगाउने भनेपनि १० हजार रुपियाँ काजक्रिया खर्चबाहेक राज्यको तर्फबाट केही पनि नपाएको मृतकका छोरा गौतम साहले बताए ।
आयोगका सदस्य पौड्यालले नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने भएपनि राज्य उदासिन भएको बताए । उनले यस घटनामा तत्काल क्षतिपूर्तिका लागि घच्घच्याउनेसमेत प्रतिवद्धता जनाए ।

नेपालका सीमा जोडिएका २० जिल्लाको सीमा क्षेत्रमा मानव अधिकारको अवस्थाको विषयमा आयोगले अध्ययन गरिरहेकोले त्यसको प्रतिवेदन आएपछि के गर्ने भन्ने विषयमा छलफल गरेर आयोगले थप कदम चाल्ने सदस्य पौड्यालले बताए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले घटना भएको यति लामो समय बित्दा पनि राज्यले पीडितलाई क्षतिपूर्ति नदिएको र घटनाको विषयमा सोधखोज नै नगरेर उपेक्षा गरेको भन्दै दुःख व्यक्त गरे ।