INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक हत्या घटनाको आरोपितका परिवार विस्थापित

मालिका मावि मुकुट्कका राहत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसी हत्या घटना कानुनी प्रक्रियामा रहेको बेला हत्या आरोपितका परिवारहरू विस्थापित भएका छन् ।

बुहारी २६ वर्षीया मुना राना खड्काले शिक्षकको हत्या गरेको घटनामा पीडित पक्षले मार्ने धम्की दिएपछि दैलेखको गुराँस गाउँपालिका–८ छोटेपोखराका नवलसिंह खड्काको परिवार तीन महिनादेखि विस्थापित भएको हो ।

मुनाका ससुरा ६५ वर्षीय नवलसिंह, सासु ६२ वर्षीया डिलसरा खड्का, देवर २८ वर्षीय दीर्घबहादुर खड्का र देउरानी २७ वर्षीया तुल्सी, भतिजा ८ वर्षीय गणेश र ६ वर्षीया तिर्सना खड्का तीन महिनादेखि कोहोलपुरमा बसिरहेका छन् ।

आरोपित मुनाका दम्पति गिरफ्तार भएदेखि नै उनीहरूका दुई छोरा ७ वर्षीय योगेश र ४ वर्षीय डेविड सुर्खेतको चिङगाडस्थित मामा घरमा बस्दैआएका छन् ।

‘घरमा बस्न नपाएपछि खानबस्नको समस्या छँदैछ, बालबालिकाको पढाईसमेत छुटेको छ’ नवल सिंहले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार गणेश ३, योगेश २ र तिर्सना १ कक्षा पढ्दै थिए ।

शिक्षकले ०७८ भदौ २८ गते राति मुनाको घरमा आएर  यौन प्रस्ताव गरेपछि ५० मीटर टाढा विद्यालय हातामा हत्या गरेको मुनाले प्रहरी र अदालतमा स्वीकार गरेकी छिन् । भदौ २९ गते विहान शव फेला परेलगतै प्रहरीले आरोपित मुना र उनका पति डम्बर खड्कालाई गिरफ्तार गरेको थियो ।

अदालतमा कात्तिक ४ गते कर्तव्यज्यान मुद्दा अभियोग दर्ता भएकोमा  थुनछेक बहसपछि कात्तिक ५ गते आरोपित दुबै जना पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा रहेका छन् ।

आरोपित मुनाका देवर दीर्घबहादुर, देवरानी तुल्सी, मुनाकी सासु डिलसरा खड्का, तीज मान्न आएकी मुनाकी अमाजु दुर्गा राना र भतिजा टोपेन्द्र खड्कासमेतलाई मुद्दा चलाउनुपर्ने भन्दै मृतक शिक्षकका परिवारजनको आक्रोस छ ।

दुईजना बाहेक अन्यलाई प्रहरीले छाडेको भन्दै शिक्षकका परिवारजनबाट ज्यानमार्ने धम्की आएपछि विस्थापित भएकोले पुनस्र्थापना गरिदिन उनीहरूले मङ्सिर २१ गते राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयमा र २९ गते जिल्ला प्रहरी कार्यालयमा दैलेखमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वर साह, नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापा र इन्सेक प्रतिनिधि अमर सुनारको टोलीले पुस १६ गते घटनास्थल पुगेर समुदायसँग  छलफल गरेको छ ।

छलफलको क्रममा डीएसपी साहले हत्या आरोपित थुनामा गइसकेको बेला आरोपितका परिवारलाई विस्थापन गर्ने कार्य गैरकानुनी भएको भन्दै कारवाहीको दायरामा आउन पर्ने र अघिल्लो मुद्दा पनि कमजोर हुनसक्ने मृतक शिक्षकका परिवार र आफन्तहरूलाई सुझाव दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख बुद्धनारायण साहनीले भन्नुभयो ‘कसैलाई पनि आफ्नै घरबास भएका ठाउँमा बस्न नदिनू मौलिक हकको उल्लङ्घन हो ।’ घटना बारे जानकारी भएको र सुरक्षा निकायसँग समस्या समाधानका लागि पहल भइरहेको साहनीले बताउनुभयो ।

आरोपितहरूलाई कानुनी प्रक्रिया चलिसकेपछि पनि किन परिवारजन माथि आक्रोस पोख्नु भएको भन्ने इन्सेकको प्रश्नमा मृतक शिक्षक बिसीको पत्नी कृष्णा बीसीले भन्नुभयो ‘उनीहरूलाई देखे हामीलाई रिस उठ्छ, सहनै सकिन्न । छिमेकमै घर छ, उनीहरू आए लडाइँ भइहाल्छ ।’

अन्य

भिडियो