INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चैत ५ गते इलाम सदरमुकामस्थित जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीले आफूहरू सिप सिक्ने र सूचना पाउने कुराबाट वञ्चित रहको गुनासो गरेका छन् ।

कारागारमा विभिन्न सिपमूलक तालिमहरू आवश्यक रहेपनि कतैबाट त्यसको सुनुवाइ नभएको उनीहरूले गुनासो गरेका हुन् । पुरूष कैदी बन्दीहरूका चौकीदार हरि अधिकारीले साना तथा घरेलु विकास समितिमा मोवाइल मर्मत, घर वाइरिङ्जस्ता सिपमूलक तालिमहरूको माग गरेपनि अहिलेसम्म घरेलुसहित अन्य निकायहरूबाट पनि त्यस्ता तालिमको व्यवस्था नभएको बताए ।

‘अहिले मूडा बुन्ने र ढाका बुन्ने केही सिप कैदीबन्दीसँग भएपनि त्यतिले मात्र पुगेको छैन ।’-उनले भने-‘कारागारबाट छुटेपछि कम्तिमा पनि घर फर्किएर नयाँ व्यवसाय सुरू गर्दा समाजमा पनि सकारात्मक सन्देश जान सक्छ र ऊ प्रति समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन सक्छ ।’

महिला कैदबिन्दीकी चौकीदार अजिता पौड्यालले पनि आफूहरूलाई आयमूलक सिपको खाँचो रहेको बताइन् । उनले कारागारमा कतैबाट पत्रपत्रिका तथा समाचार र जानकारीमूलक सामग्रीहरू नजाँदा आफूहरू थाहा पाउने अधिकारबाट पनि वञ्चित रहेको बताइन् । सरकारले कैदीबन्दीलाई उपलब्ध गराउने सेवासुविधा अपुग भएको उनले गुनासो गरिन् ।

इन्सेक कन्द्रीय कार्यालयकी सम्झा श्रेष्ठको नेतृत्वमा गएको इन्सेकको टोलीले कैदीबन्दीको स्वास्थ्य अवस्था, पोषण तथा खानापान स्थितिलगायतका विषयमा कारागारमा कार्यरत हेल्थ एसिस्टेन्ट पङ्कज पोख्रेलले जानकारी दिए । टोलीले जिल्लाको मानव अधिकारको अवस्थाका विषयमा पनि इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो र प्रहरी प्रमुख शुशिलकुमार यादवसँग छलफल गरेको थियो ।

अन्य

भिडियो