१७ वर्षीया बालिकालाई बालबिवाह तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिका‒१ नाङ्खोल्याङका १७ वर्षीय बालकलाई मङ्सिर २९ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ असार ५ गतेदेखि असार २६ गतेसम्म बालबिवाह गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतमा ०७७ पुस १४ गते बालबिवाह र बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७७ पुस १६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि बाल सुधारगृह विराटनगरमा रहेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ साउन १ गते गरिएको थियो ।
कसुरदार हाल बाल सुधारगृह विराटनगरमा रहेको जिल्ला कारागारका जेलर कुलेन्द्र खवासले जानकारी दिनु भएको छ ।