जिल्लाको पूर्वीउत्तरी कोल्टि क्षेत्रमा अवरुद्ध भएको टेलिफोन सेवा सुचारु नहुँदा त्यस क्षेत्रका सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ ।
एक सातादेखि अवरुद्ध रहेको टेलिफोन र इन्टरनेट सेवा पूर्ण रुपमा अवरुद्ध भएपनि सुचारु गर्न प्रायस नगरिएको कारण आफूहरुले सास्ती खेप्नु परेको स्थानीय सेवाग्राहीहरुको आरोप छ ।
कोल्टि राष्ट्रिय बाणिज्य बैकमा पैशा लिन आएको चार दिन बितिसक्दा समेत इन्टरनेट सेवा नभएका कारण बैकले रकम भुक्तानी गर्न नसकेको स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराका ५४ वर्षीय वीरेन्द्र शाहीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘केल्टी आएको चार दिन भयो । होटेलमा बसेको छु । मेरो बैंक खातामा जम्मा भएको रकम भन्दा बढी खर्च भइसकेको छ । खातामा थोरै पैशा थियो । हिउदका लागि कोल्टि खाद्य डिपोबाट चामल किनेर ल्याउला भनेर बैंकमा आए । इन्टरनेट सेवा नभएकोले बैंकबाट पैशा निकाल्न सकिएको छैन् । अब चामल कसरी किन्ने समस्या भएको छ ।’
घरखर्च चलाउनका लागि छोरोले भारतबाट पठाएको १० हजार रुपियाँ लिन बैंकमा आएको तीन दिन भइसक्दा समेत इन्टरनेट सेवा नभएको भन्दै बंैकले भुक्तानी नदिदा समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिका–४ का ज्ञानबहादुर बुढाले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘कहिले इन्टेरनेट सेवा सुचारु हुने हो थाहाँ छैन् । होटेलमै बसेको तीन दिन भइसक्यो । छोराले पठाएको सबै रकम होटेललाई नै दिनु पर्ने अवस्था आएको छ । घर परिवारको समस्या कसरी टार्ने चिन्ता भएको छ ।’
कालजाग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ्ग परेपछि इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेको नेपाल टेलिकम, बाजुराका प्रमुख पदमराज पडालले बताउनु भयो ।
टेलिफोन सेवा अवरुद्ध हँुदा कोल्टिमा रहेका बैंक तथा वितिय सस्थाहरुले प्रवाह गर्ने सबै सेवाहरु पूर्ण रुपमा बन्द भएका छन् । टेलीफोन र इन्टरनेट सेवा बन्द हँुदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ ।
अवरुद्ध भएको टेलीफोन तथा इन्टरनेट सेवा सुचारु गर्नका लागि काठमाडौँबाट सामान मगाउनु पर्ने भएकाले सञ्चालनमा समय लाग्ने कार्यालय प्रमुख पडालले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकार गोपाल कुमार अधिकारीले जिल्लाको उत्तरी क्षेत्रका नागरिकहरु सूचना तथा सञ्चार सेवाबाट वञ्चित हुँदै आएपछि सम्बन्धीत सरोकारवाला निकायलाई पटकपटक पत्राचार गरिएको भएपनि समस्या समाधान हुन नसकेको बताउनु भयो ।
नेपाल टेलिकम, बाजुरा शाखाका प्रमुखसँग पनि छलफल गरी चाडो समस्या समाधान गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।
जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका गरी चार स्थानीय तहका झण्डै ५० हजार बढी व्याक्तिहरु सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् ।
सदरमुकाम मार्तडी क्षेत्रमा सञ्चालनमा रहेको इन्टरनेट सेवा समेत गुणस्तरीय नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको छ ।
दुई साताअघि मात्रै जिल्लास्थित सञ्चारकर्मीहरुले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउनु पर्ने मागराखि नेपाल टेलिकम शाखा कार्यालय, बाजुरा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका थिए ।