संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३ गते राजविराज क्षेत्रमा रहेका स्थानीय तहका कार्यालयहरूमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी गरेका छन् ।


मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताहरूले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयका प्रमुखको र प्रशासन कक्षमा ताला लगाएका हुन् ।
तालाबन्दी गर्न गएका मोर्चा कार्यकर्ताहरूले एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन् ।
स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको मोर्चाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयन भएपछि तालाबन्दी गरेको हो ।
०७४ वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन र स्थानीय तह पुर्नर्संरचना कार्यान्वयन हुन नदिने मोर्चाले फागुन ३ गते निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।