INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो

७३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरीे मङ्सिर २४ गते मनाइएको छ ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार सामाजिक विकास कार्यालय पर्वत र कुश्मा नगरपालिकाको मुल आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न १५ ओटा संस्थाको सहकार्यमा जिल्लामा मानव अधिकार दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर पौडेलले महिला हिंसा अन्त्यका लागि सबैले मनै देखि प्रण गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले २०५४ सालदेखि नेपालमा लैङ्गिक हिंसाविरूद्धको अभियान सञ्चालन भएपनि हिंसाका घटना अहिले पनि उत्तिकै मात्रामा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा इन्सेक प्रतिनिधि सन्तोष थापाले सन् २०२१ मा समग्र पर्वत जिल्लाको मानव अधिकार उल्लङ्घन र हिंसाका घटनाहरु बारे प्रस्तुतिकरण गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहारीले लैङ्गिक हिंसा, अधिवक्ता हरिनारायण रेग्मीले मानव अधिकारको अवधारणा र जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर प्रदिप पौडेलले आर्थिक वर्ष २०७८/०७९ को महिला हिंसासम्बन्धी घटनाहरू जानकारी गराउनुभएको थियो ।

Photo20211211Kaski4

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार मानव अधिकार दिवसको अवसरमा तनहुँ कारागारको अनुगमन गरिएको छ । इन्सेकको नेतृत्वमा मानव अधिकार सङ्घ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुले कारागार, कैदी बन्दी र उनीहरुको आधारभुत मानव अधिकार कार्यान्वयनको अवस्था लगायतको अनुगमन गरेका थिए । तनहुँ कारागार शाखा प्रमुख ऋषिराम सुवेदीले कारागारको भौतिक अवस्था र कैदी बन्दीको अवस्थाको जानकारी गराउनुभएको थियो भने कैदी बन्दीका नाईके रामु लोहनीले कैदी बन्दीको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

Photo20211211Kaski1

२०२५ सालमा निर्माण गरिएको मुख्य भवन र गत वर्ष निर्माण गरिएको भवनमा २ सय ७१ जना कैदी बन्दी राखिएको जेलर सुवेदीले जानकारी दिनुभयो । नयाँ भवन निर्माण सम्पन्न भएपछि कैदीबन्दीलाई स्थान अभाव नभएको भन्दै उहाँले पर्याप्त खानेपानी, शौचालय, स्नान घर, खेल सामाग्री र अध्ययन सामाग्री भएको बताउनुभयो । गत वर्ष तनहुँ कारागारले नमुना कारागारको रुपमा कारागार व्यवस्थापन विभागबाट सम्मान पत्र समेत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

कारागारमा एक जना अहेवको दरबन्दी भएपनि उक्त दरबन्दीको स्वास्थ्यकर्मी नआउँदा बिरामी भएका कैदी बन्दीको स्वास्थ्य परीक्षणको लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता भएको बताउनुभयो ।

Photo20211211Kaski2

स्वास्थ्यकर्मीको अनुपस्थितीको बारेमा विभागमा जानकारी गराइएको तर हालसम्म उपलब्ध नभएको उहाँले बताउनुभयो । हालसम्म पुरुष कैदीबन्दी मात्र राख्ने गरिएको तनहुँ कारागारमा अब केही महिना भित्रैमा महिला कैदी बन्दी समेत राख्ने गरी पुर्वाधार निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो । ‘ग’ श्रेणीको तनहुँ कारागामा १ सय १० थुनुवा  र १ सय ६१ कैदी गरी २ सय ७१ जना रहेका छन् ।

कारागारको अनुगमन पश्चात इन्सेकको तर्फबाट कैदी बन्दीहरुको लागि मानव अधिकार सम्बन्धी केही पुस्तकहरु उपलब्ध गराइएको थियो । पुस्तक ग्रहण गर्दै जेलर सुवेदीले उक्त पुस्तकले कैदीबन्दीलाई दिन कटाउन सहज हुने र पढ्ने बानीको विकास हुनुको साथै मानव अधिकार सम्बन्धी ज्ञान समेत बृद्धि हुने बताउनुभयो ।

Photo20211211Kaski5

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार मानव अधिकार दिवसको अवसरमा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनको आयोजनामा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखा लगायतका विभिन्न मानव अधिकार सङ्घ सस्थाको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला आधिकारी कमलराज भण्डारीले मानव अधिकारका विषयमा ग्रामिण क्षेत्रमा अझै चेतना पुग्न नसकेको बताउदै यस्ता कार्यक्रम ग्रमिण क्षेत्रका नागरिकहरुलाई लक्षित गरी  गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागीले उत्तरी गोरखामा पहिरोले आवातजावतको समस्या तथा त्यहाँका स्थानीयहरुको दैनिकीमा पारेको असर बारे अधिकारकर्मीले संयुक्त आवाज उठाए समस्या समाधान गर्न सकिने बताउनुभयो ।

Photo20211211Kaski3

अन्य

भिडियो