गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानलाई इमान्दारीका साथ कार्यन्वयन गर्न सके मानव अधिकारको प्रत्याभूत हुने बताउनु भएको छ ।
७३ औं मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते पोखरामा आयोजित मानव अधिकार महाभेलाको समापन कार्यक्रम बोल्दै उहाँले समय क्रम अनुसार मानव अधिकारको दायरा बढ्दै गएको बताउनुभयो ।

संविधानले परिकल्पना गरेका लक्ष्य अनुरूप नीति तथा कार्यक्रमहरू ल्याउदै संविधानको कार्यान्वयन गर्नु तीनै तहका सरकारको दायित्व रहेको उहाँको भनाइ थियो ।
प्रदेश सरकार सचिव रविलाल पन्तले मानिसले सम्मानित तरिकाले बाच्न पाउनुपर्ने अधिकार नै प्रमुख अधिकार रहेको बताउनु भयो ।
नेपाल सरकारले हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धि अनुरूप नितिगत र संरचनागत रूपमा सुधार हुँदै आएको उहाँले बताउनुभयो । राज्यको तहबाट गरिएका प्रयास मात्रै पर्याप्त नहुने भन्दै नागरिक तहबाट पनि मानव अधिकारको उल्लङ्घनमा सचेत बन्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय निमित्त प्रमुख खिमलाल सुवेदीले मानव अधिकारको विश्वव्यापी घोषणाले अधिकार मात्रै नभई कर्तव्यलाई पनि व्याख्या गरेको बताउदै अधिकार प्राप्तिका लागि अग्रसर भइरहदा कर्तव्यलाई भुल्न नहुने बताउनुभयो ।
राज्यले मानव अधिकारको प्रत्याभूत गर्ने र नागरिकहरूले अनुभुती गर्ने अवस्था अझै बन्न नसकेको उहाँको भनाइ थियो ।
कोभिड–१९ विरूद्धको खोपमा सबै नागरिकहरूको पहुँच पुग्न नसकेको बताउदै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
मानवअधिकार महाभेला गण्डकी संयोजक बिना सिलवालले प्रदेशमा रहेका पहिचान बिहिन बालबालिकाहरूको पहिचान दिनको लागि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले हरेक क्षेत्रमा महिलाहरूको समान सहभागिता हुन नसक्नु नै हिंसा रहेको बताउदै उहाँले निर्णायक तहमा महिलाको समान सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रदेशको अस्पतालमा आजसम्म मानसिक रोगका पीडितहरूले उपचार गर्न पाउने अवस्था नरहेको भन्दै उहाँले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी सयोजक खोमराज सुवेदीले समाज भित्र रहेका विभेदको सामना गरिरहेका समुदायलाई मुलधारमा ल्याउन सबैको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले निर्माण गर्ने कानुनहरू मानव अधिकारमैत्री बन्नुपर्ने बताउनुभयो ।
मानव अधिकार दिवसको सन्दर्भमा पोखरा मानव अधिकार चोक देखि सभागृहसम्म प्रभातफेरी समेत आयोजना गरिएको थियो ।