अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गुल्मीको पहलमा चार जना अनाथ बालबालिकालाई एसोएस बालग्राम भैरहवा भर्ना गरिएको छ ।
चार वर्षदेखि अभिभावक बिहिन मदाने गाउँपालिका– ५ मलायगिरीका चार वर्षीय कुलदिप विक, १३ वर्षीया लक्ष्मी विक र एक वर्षदेखि अभिभावक बिहिन मालिका गाउँपालिका– ३ ह्वाङदीका पाँच वर्षीय सन्दिप घर्ती, तीन वर्षीय प्रदिप घर्ती मगरलाई एसोएस भर्ना गरिएको हो ।
कुलदिप र लक्ष्मी चार महिनाको फरकमा बुबा–आमाको मृत्यु भएपछि बिचल्लीमा परे । लामो समयदेखि उनीहरु गास, बास कपाससँगै स्वास्थ्य र शिक्षाको पहुँच बाहिर थिए । लक्ष्मीले गाउँमा मागेर भाई बहिनीको खानाको जोहो गर्दै आउनु भएको थियो ।

रोजगारीका लागि भारतमा रहेका बुवा मीनबहादुर विकको ०७६ वैशाखमा मृत्यु भए पछि पतिको शोक र रोगले थला परेकी आमा जुठी विकको पनि चार महिनाको फरकमा मृत्यु भएको थियो ।
दुख पाएका बालबालिकाको उद्धार भएपछि मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बालबालिकाको संरक्षाणका लागि इन्सेकले दुई वर्षदेखि गरेको समन्वय प्रसंसा गर्नुभयो ।
मालिका गाउँपालिका– ३ का चन्द्रबहादुर घर्ती मगरले०७७ असोज ११ गते आत्महत्या गरे । उनकी पत्नी टीका घर्तीमगरले विवाह गरेपछि सन्दीप र प्रदिप अलपत्र परका थिए ।
मालिका गाउँपालिका– ३ का वडाध्यक्ष राजकुमार विकका अनुसार सन्दीपले एक आँखाले देख्दैनन् । प्रदिपमा पनि कुपोषणको समस्या थियो । मदाने र मालिकाका बालबालिकाको उद्धारको लागि इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले ०७८ असार २६ गते एसोएस बालग्रामको कार्यालय भैरहवामा निवेदन दिनुभएको थियो ।
एसोएसको टोलीले कात्तिक ११ गते गाउँमा पुगेर बालबालिकाको वास्तविक अवस्था बुझेर प्रतिवेदन तयार पारेको थियो ।
उक्त प्रतिवेदनको आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको एसोएस बालग्राम भैरहवा कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो ।
भर्ना भएका मध्ये मदानेकी लक्ष्मी विक काठमाण्डौस्थित होटलमा काम गर्दै आउनु भएको थियो । अभिभावक विहिन बालिका होटलमा बालश्रम गरिरहेको र आफुहरूको सिद्धान्तले दिदि भाई छुटाउन नहुने भएपछि बालिकालाई होटलबाट उद्धार गरेर बालग्राममा संरक्षण राखिएको ढकालले बताउनु भयो ।