कात्तिकको पहिलो हप्ता परेको अविरल वर्षाले ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका २१ घर भत्किएको करीब डेढ महिना बित्नै लाग्दासमेत सरोकारवालाको टोलि घटना स्थल पुग्न सकेको छैन ।
जसमध्ये पाँच ओटा घर पूर्ण रूपमा भत्किएका छन् भने १६ ओटा घर बस्नै नहुने गरी क्षति भएका छन् । हाल २१ घर परिवार आवास बिहीन भएर त्रिपालको भरमा चिसो रात कटाउन बाध्य भएको स्थानीय दानबहादुर बुढाले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो –‘हाम्रो गाउँमा सञ्चारको पहुँज छैन, त्यसैले पनि कसैले सुनुवाई गर्दैनन् ।’

वर्षाले घर भत्काउनुका साथै कोदो, गहुँ, मकै लगायतका अन्नबालीमा क्षति पुगेको भन्दै स्थानीयहरूले कात्तिक ३० गते मैला प्रहरी चौकीमा निवेदन दिएपनि हालसम्म कुनै चासो नदिएको बुढाले गुनासो गर्नुभयो ।
घर भत्किएका कारण मङ्सिरको चिसोमा पनि आफूहरू त्रिपालमा बिताउँदा कष्टकर भएको भन्दै सरोकारवालाको तत्काल ध्यान जानुपर्ने पीडित केशवबहादुर रोकायाको भनाइ छ ।
मासपुर गाउँका स्थानीयले राहतको पहलका लागि ढिलाई गरेका कारण त्रिपालमै बस्नु परेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपत व्यवस्थापन समितिका संयोजक गणेश आचार्यको भनाइ छ ।
अबको केही दिनमै प्रहरीले तत्काल मासपुर पुगेर क्षतिको विवरण सङ्कलन गरेर प्रक्रिया अघि बढाइने संयोजक आचार्यले बताउनुभयो ।