तातोपानी गाउँपालिका –४ ठाँटाचौरस्थित नेत्रज्योती माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।
गत कात्तिक महिनाको पहिलो साता आएको बाढीका कारण नेत्रज्योती माध्यामिक विद्यालयको भवन, फर्निचर, खेलकुद सामग्री लगायतमा क्षति पुगेपछि ६ सय ५५ जना बालबालिकाहरु चिसो भुइँमा बसेर बढ्न बाध्य भएको प्रधानाध्यापक जाज्वल्याराज न्यौपानेले बताउनुभयो ।
बाढीले भवन बगाएको डेढ महिना हुँदा पनि विकल्प नभएपछि विद्यार्थीहरू भुइँमा बसेर बढ्न बाध्य भएको हुन् ।
समस्या समाधान गर्न गाउँपालिकादेखि प्रदेश, संघीय सरकारसँग पटक पटक समन्वय गरी आग्रह गर्दासमेत समस्या समाधान हुन नसकेको र विद्यार्थीले ढुङ्गा ओछ्याएर बस्नु परेको उहाँले दुःखेसो पोख्नुभयो ।
न्यौपानेले भन्नुभयो– ‘अहिले केही विद्यार्थी टेण्ड, पालमुनि, केही विद्यार्थी आकाश मुनि र १–३ कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर बहुकक्षा शिक्षण दिने गरेका छौँ ।’

उहाँका अनुसार विद्यालय सञ्चालन गर्नका लागि १० ओटा कोठाको आवश्यकता छ तर, बाढीले बगाएर ६ ओटा कोठा मात्रै बचेका छन् ।
कक्षा ९ मा अध्यनरत रीता पाण्डेका अनुुसार विद्यालयका फर्निचर बाढीले बगाएपछि चिसो भुइँमा बस्नु परेको छ । उहाँले भन्नुभयो–‘विद्यालय आवत जावत गर्ने पुल पनि बगाएपछि धेरै विद्यार्थीहरू विद्यालय आउन पाएका छैनन्, कक्षा कोठाको अभावमा दुई तीन कक्षाका विद्यार्थीसँगै बसेर पढ्नु परेको छ ।’

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरेको छ । सरकार तथा मुख्य सरोकारवालाले प्राकृतिक प्रकोपमा क्षति भएका विद्यालयका संरचनाहरूको तत्काल निर्माण तथा वैकल्पिक व्यवस्थाको खोजि गर्न नसक्दा विद्यार्थीहरू अधिकार उपभोग गर्नबाट बञ्चित भएको शिक्षकहरूको टिप्पणी छ ।
बाढीले विद्यालयको भवन बगाउँदा अनुमानित ४५ लाख, पर्खाल बगाउँदा ३५ लाख र खेलकुद मैदान बगाउदा करिब ६० लाख रूपियाँ क्षति भएको विद्यालय प्रशासनले जनाएको छ ।

यस्तै स्टोर गरिएको फर्निचरको ८ लाख, नयाँ निर्माणका लागि राखिएको फर्निचर ४ लाख, जस्तापाताको ३ लाख, निर्माण सामग्री फलामे औजार २ लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माण लागि राखिएका काठ ५ लाख ५० हजार, राष्ट्रिय झण्डा राख्ने मञ्च ४० हजार विद्यालयको शौचालय २ लाख ५० हजार गरी १ करोड ६६ लाख ३५ हजार रूपियाँ बराबरको क्षति अनुमान गरिएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले ठूलो मात्रामा बाढीले क्षति गरेको कारण गाउँपालिकाले मात्रै पुनर्निर्माण गर्न नसक्ने बताउनुभयो ।
संघ संस्था, स्थानीय, प्रदेश र संघीय सरकारसँग पुनर्निर्माणका लागि पहल गरिरहेको र हाल केही पाल प्राप्त भएको उहाँको भनाइ छ ।
