१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले राप्ती गाउँपालिका –४ का २२ वर्षीय भुपाल थापालाई मङ्सिर ८ गते दुई वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले कैद सहित २५ हजार रुपियाँ जरिवाना र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताउनु भयो ।

भण्डारीका अनुसार घटनामा सङ्लग्न सोही ठाउँका २२ वर्षीय इशव जिसी र २४ वर्षीय अर्जुन विकलाई जनही एक वर्ष कैद, १२ हजार ७ सय जरिवाना रुपिया र जनही २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
घटनामा सङ्लग्न राप्ती गाउँपालिका–४ का २३ वर्षीय प्रकाश नेपाली भने फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको भण्डारीले बताउनु भयो ।
पीडितलाई ०७७ साउन १६ गते आरोपितहरू यौन दुर्व्यहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुवाङमा साउन १८ गते उजुरी दिएका थिए ।
प्रहरीले आरोपितहरूलाई साउन २० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते लमही अस्पतालमा गरिएको थियो ।