चितवनका स्वास्थ्य केन्द्र (हेल्थ पोष्ट) मा निःशुल्क पाइने औषधिको अभाव भएको छ । त्यस्तै यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पर्याप्त मात्रामा औषधि पुगेको छैन । चितवनमा ३५ वटा हेल्थ पोष्टहरू छन् । तर, हेल्थ पोष्टमा निःशुल्क भनिएका औषधिहरू पुग्न सकेका छैनन् । जसले गर्दा स्थानीय नागरिक निःशुल्क औषधि पाउनबाट वञ्चित भएका छन् ।
‘गर्मी बढ्दै छ, बिरामीको चाप पनि बढ्दो छ । तर, निःशुल्क पाइने औषधिको सधैँ अभाव भइरहेको छ ।’-पिठुवा हेल्थ पोष्टका इञ्चार्ज चन्द्रबहादुर हमालले भने-‘हेल्थ पोष्टमा ३५ प्रकारका औषधिहरू निःशुल्क आउनुपर्छ । तर, १५ प्रकारका भन्दा बढी औषधि आएकै छैन ।’ इञ्चार्ज हमालका अनुसार पहिलापहिला आउने गरेको औषधि पनि आउन छोड्यो ।
खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक नेत्रबहादुर थापाले एन्टिबायोटिक औषधिहरू पर्याप्त नआएको बताए । उनले भने-‘एन्टिबायोटिक एमोक्सिनल औषधि आएकै छैन । दादका मलमहरू पनि अभाव रहेको छ ।’ उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा ५४ प्रकारका औषधिहरू निःशुल्क आउनपर्छ । थापाले सबै औषधि एकैचोटी नआउने र कुनै न कुनै औषधिहरूको अभाव भइरहने बताए ।
सबै प्रकारका निःशुल्क औषधि जनताले नपाएका उनको भनाइ थियो । उनले भने-‘ढिलोचाँडो औषधि त आउला तर पर्याप्त औषधि आएकै छैन ।’ चितवनमा खैरहनी, जुटपानी र शिवनगर गरी तीन ठाउँमा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले जनस्वास्थ्य कार्यालयमा निःशुल्क औषधि आउने बितिक्कै पठाउने गरेको बताए । प्रमुख झाको भनाइअनुसार कतिपय औषधि टेण्डरको प्रक्रियामा जाँदा आउनलाई ढिलो हुन्छ ।