INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभावमा नदीको दुषित पानी पिउन स्थानीय बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि साँफेबगर नगरपालिका–२ बागभिडीस्थित दलितबस्तीका १ सय ५० बढी परिवार नदीको दुषित पानी पिउन बाध्य भएका छन् ।

मुहानमा पानी सुक्दै गएको र वैकल्पिक व्यवस्था नभएका कारण बागभिडीका स्थानीयहरुले नदीको दुषित पानी पिउन बाध्य भएका हुन् ।

खानेपानीको अभावमा बुढीगंगा नदीको धमिलो पानी खान बाध्य भएको स्थानीय सम्झना आउजीले दुखेसो पोख्नु भयो  ।

आधा घण्टाको पैदल दुरीमा रहेको बुढीगंगा नदीमा बिहानै गएर फोहर पानी ल्याएर खानु पर्ने बाध्यता रहेको स्थानीय पशुपति परियारले दुखेसो पोख्नु भयो ।

पानीको अभावमा खानेपानी, सरसफाइमा धेरै समस्या हुने गरेको स्थानीय ज्येष्ठ नागरिक जोगी विकले गुनासो गर्नु भयो । पानीको अभाव भएपछि सरसफाइ गर्न समस्या भएपनि साँझ ज्यालामजदुरी गरेर घर फर्किएपछि हातमुख नधोएरै सुत्तु परेको स्थानीय डिक्रा आउजीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘बालबालिकाको सरसफाइ, लुगाफाटो धुन र शौचालय समेत सरसफाइ गर्न समस्या भएको छ । वर्षाको बेलामा त नदीको पानी खान नसकिने अवस्था हुन्छ । साना केटाकेटी बिरामी हुने डर धेरै छ ।’

दुषित पानीले साना केटाकेटी बिरामी हुन्छन् कि भन्ने चिन्ता लागि रहने स्थानीय पशुपति परिवारको भनाइ छ । दुषित पानी पिउँदा शरिरमा आक्रमणका कारण तत्कालिन र दीर्घकालिन रोगले आक्रमण गर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

फोहोर पानीले पेट दुख्ने, वाकवाकी लाग्ने, टाइफाइड बिग्रिएर ज्यान समेत जान सक्ने र दुषित पानी पिउदा तत्कालिन तथा दिर्घकालिन रोगहरुको सङ्क्रमण बढने जिल्ला अस्पताल, अछामका डाक्टर प्रेमप्रसाद ढुङ्गानाले बताउनु भयो ।

खानेपानीका लागि वडाका जनप्रतिनिधिलाई जानकारी गराउँदा आश्वसन मात्रै पाएको बागभिडीका दलित समुदायको आरोप छ ।

पानीको मुहान मै समस्या देखिएकोले दलितबस्तीमा खानेपानीको समस्या उत्पन्न भएकोले गर्दा डीप बोरिङबाट पानी ल्याएर घरघरमा पुर्याउने योजना रहेको साँफेबगर नगरपालिका–२ का अध्यक्ष कालुसिंह कुँवरले बताउनु भयो ।

अन्य

भिडियो