INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा ब्लड बैङ्क(रगत सङ्कलन केन्द्र) केन्द्र नहुँदा बिरामी तथा बिरामीका आफन्तले समस्या खेप्नु परेको छ ।

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा रगत आवश्यक हुने बिरामीलाई जिल्ला बाहिर रिफर गर्नु परेको अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले बताउनु भयो ।

मैवाखोला गाउँपालिका–४ साँघुका ३० वर्षीय निमा शेर्पाले ४९ वर्षीया आमालाई उपचारका लागि कात्तिक २० गते जिल्ला अस्पतालमा भर्ना गर्नुभयो । आमाको उपचारका लागि ए पोजेटिभ रगत चाहियो । बिरामीको मुखबाट रगत बग्ने समस्या भएकाले चिकित्सकले कम्तीमा पाँच पाउण्ड ब्लड अग्रिम व्यवस्थापन गर्न निमालाई सुझाव दिए ।

कात्तिक २२ गते अस्पतालमा भेटिनु भएका निमा शेर्पाले भन्नुभयो“रेडक्रससँग समन्वय गरेर एक पाउण्ड ब्लड उपलब्ध भयो । अब चार पाउण्ड ब्लड तुरून्त चाहिएको छ, व्यवस्थापन गर्न सकेको छैन ।” जिल्ला अस्पतालमा ब्लड आवश्यक हुने बिरामीका आफन्तले रगतका लागि रेडक्रससँग समन्वय गर्दै आउनु परेको छ । रेडक्रससँग समन्वय गरेर ०६० सालदेखि रगत आवश्यक हुने बिरामीको उपचार हुँदै आएको छ । रेडक्रसले रगत दान गर्नेको नाम, ठेगाना र ब्लडग्रुपसहितको विवरण मोवाइलमा व्यवस्थापन गरेको छ । तर सर्वसाधारणदेखि सुरक्षा निकायसँग समन्वय गरेर रगत व्यवस्थापन गर्नु त्यति सहज भने छैन् ।

रेडक्रसका मन्त्री विकास गौतमको मोवाइलमा प्रत्येक दिन रगतका लागि फोनको घण्टी बज्छ । किनकी रेडक्रसले धेरैसँग रगतका लागि समन्वय गर्ने गरेको छ । जिल्ला अस्पतालमा ब्लड बैङ्क भएको भए जिल्ला अस्पतालमै उपचार सम्भव भएका बिरामी तथा आफन्तले न त रगत नै खोज्नु पथ्र्यो । न त जिल्ला बाहिर नै जानु पर्ने थियो ।

जिल्ला अस्पतालमा उपचारका लागि आएकालाई रगत चाहिए रगत व्यवस्थापन गर्न निकै कठिन हुने गरेको छ । रगत जुटाउने प्रयास असफल भए जिल्ला बाहिर लैजानुपर्ने समस्याले बिरामी तथा बिरामी आफन्तले आर्थिक र मानसिक तनाव वेहोर्नु परीरहेको रेडक्रसका महामन्त्री विकास गौतमको भनाइ छ । बिरामीलाई चाहिएकै समयमा रगत व्यवस्थापन गर्न निकै कष्ट हुने गरेको मन्त्री गौतमले बताउनु भयो ।

अस्पतालमा दरबन्दीको ल्याब असिस्टेण्ट रिक्त भएकाले करारमा राखिएका एक जना कर्मचारी ल्याबको जिल्ला लिनु परेको अवस्था छ । ल्याब असिस्टेण्ट दीपेन्द्र पौडेलले भन्नुभयो,“दिनभरको थकान भन्न पाइँदैन् । कहिलेकाँहि त मध्यरातमा उठेर  काम गर्नुपर्छ ।”

अस्पताल र रेडक्रस तथा सरोकारवालाले ब्लड बैङ्क स्थापनाका लागि माग गरेपनि सुनुवाइ हुन सकेको छैन । जिल्ला अस्पताललाई १५ बेडबाट ५० बेडको बनाउने सरकारले घोषणा गरेकाले अब ब्लड बैङ्क स्थापना अनिवार्य शर्त भएपनि कार्यान्वयन भने हुन नसकेको अस्पताल प्रमुख डाक्टर सोनिङ लामाको भनाइ छ ।

डाक्टर लामाले भन्नुभयो–ब्लड बैङ्क स्थापना भए बिरामी र आफन्तलाई सहज त हुन्छ नै, त्यो भन्दा बढी अस्पतालको सेवा प्रवाहप्रति स्वास्थ्य सेवाग्राहीको विश्वसनियता बढ्छ । रगत अभावमै रेफर गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ।

आर्थिक वर्ष ०७७-०७८ मा १ सय २ दुई जनाबाट सङ्कलन गरेको रगतबाट ७२ जना स्वास्थ्य सेवाग्राही लाभान्वित भएको रेडक्रसको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा ०७८-७९ को तीन महिनाको अवधि (साउन, भदौ र असोज) मा ४४ जनालाई रगत व्यवस्थापन गरिएको छ ।

ब्लड बैङ्क स्थापनाका लागि जिल्लाका नौ ओटै स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेश सरकार तथा सङ्घीय सरकारलाई अनुरोध गरेको भएपनि समस्या समाधान कहिले हुने टुङ्गो नभएको अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाको भनाइ छ ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो